एसईईको प्रश्नपत्र लगातार आउट, भेटियो महत्वपूर्ण ‘क्लू’

काठमाडौं । प्रदेश २ मा लगातार दुई दिन माध्यमिक शिक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरियो । शनिवार सञ्चालन हुने अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत शुक्रवार नै आउट भइसकेको छ ।  

प्रहरीको कडा निगरानीका बाबजुद प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र कसरी आउट भयो ? दुई दिन लगातार प्रश्नपत्र आउट भएको घटना सेलाउन नपाउँदै शनिवार हुने अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको पनि प्रश्नपत्र बाहिरियो । यसैले अहिले अरु प्रश्नपत्र पनि बाहिरिएको शंका गरिएको छ । 

यही चैत १० गतेदेखि शुरु भएको एसईई परीक्षा अन्तर्गत विज्ञान, सामाजिक र अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र बाहिरिएसँगै प्रदेश २ का विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ । 

यसरी लगातार प्रश्नपत्र आउट हुन थालेपछि शिक्षा मन्त्रालयले अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको छ । जिम्मेवारी पाएसँगै शुक्रवारदेखि नै सीआईबीले आनुसन्धान थालिसकेको छ । 

शुक्रवार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सुरक्षा निकाय समेतलाई राखेर आकस्मिक बैठक डाकेर कसरी प्रश्नपत्र बाहिरियो भन्ने सवालमा आवश्यक छलफल गरेका छन् ।  

उता प्रश्नपत्र बाहिरिएको विषयमा आकस्मिक बैठक बोलाएको केही घण्टापछि नै शनिवार सञ्चालन हुने एसईई परीक्षाको अर्को प्रश्नपत्र नै बाहिरिएको समाचार आयो । पटक–पटक प्रश्नपत्र बाहिरिएपछि यतिबेला प्रदेश २ का विद्यार्थीहरु आक्रोशित बनेका छन् । आक्रोशित विद्यार्थीहरुले प्रदेश २ को राजधानी जनकपुरधामसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीको सम्पूर्ण परीक्षा केन्द्रमा विद्यार्थीहरुले शुक्रवार विरोध प्रदर्शन गरेका थिए ।

शुक्रवार सञ्चालन भएको अनिवार्य सामाजिक शिक्षाको विषयको प्रश्नपत्र भने शिलबन्दी गरिएको कपडा ब्लेडले काटेर प्रश्नपत्र चोरी गरिएको थियो । परीक्षा शुरु हुनु अगावै बाहिरिएको सामाजिक विषयको प्रश्नपत्रसँगै क्यामरामा कैद भयो ब्लेड । प्रश्नपत्र चोरी गर्ने क्रममा हतारमा फोटो खित्दा ब्लेड पनि आएको हुन सक्ने शंका गरिएको छ । 

योसँगै अनुसन्धानको लागि महत्वपूर्ण हतियार बनेको छ । 

यता परीक्षा नियन्त्रण बोर्डका अधिकारीहरु भन्छन्, ‘हामीले १५ दिनअघि नै एसईईको प्रश्नपत्रहरु शिलबन्दी गरेर प्रहरीको कडा निगरानीमा राख्ने गरी परीक्षा केन्द्र प्रमुखहरुलाई नै पठाएका थियौं ।’

यसैबीच शिक्षा मन्त्री पोखरेलले बाँकी प्रश्नपत्र सुरक्षित छ कि छैन भन्ने अनुसन्धान तथा चार घण्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न निर्देशन दिइसकेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?