अवैध काठ बरामद

नुवाकोट । जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ । 

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी बिक्रीका लागि लैजाँदै गरेको उक्त परिमाणको काठ र काठ बोक्न प्रयोग भएका दुई मिनीट्रक सोमवार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिए । 

यादवका अनुसार काठसहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचानपश्चात् जिल्ला अदालतमा मुद्दा चलाइने तयारी छ ।

‘सामुदायिक वनमा कटान भएको काठ बोकेर बिक्री गर्न लैजाँदै गरेको बा३क २०८६ नंको मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा४ख ९९१ नंको मिनीट्रक र त्यसका चालक सन्तोष राईसहित पाँच माथि अनुसन्धान थालिएको छ’, यादवले भने, ‘कटान गरेको काठको रुख सङ्ख्यालगायतका कैफियत स्थलगत अवलोकनपश्चात् तयार हुने प्रतिवेदनअनुसार कारवाही अघि बढाइने छ ।’ 

जिल्ला वन कार्यालयले वि.सं २०७२ देखि जिल्लाको निजीलगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोवारमा प्रतिबन्ध लगाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?