१४ वर्षीया बालिकाको गुपचुप बिहे, प्रहरीमा उजुरी

नुवाकोट । बालबिबाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप बिबाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो । 

स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ र कान्छीआमा विमला तामाङले फूपूका छोरा काले तामाङसँग फागुन २१ गते गुपचुपरुपमा बिबाह गराएको बालिकाकी आफन्त ९बालिकाकी ठूलोबाबाको छोरी० सुनिता तामाङले जानकारी दिइन् । 

आफू सदरमुकाममा रहेको बेला आफूलाई समेत कुनै जानकारी नदिई बालिकाको बिबाह गराएको उनको भनाई छ । बहिनीको बालबिबाह भएको जानकारी पाएपछि आफूले फागुन २२ गते जिल्ला महिला सेलमा बालिकाकी काका सोनाम कान्छीआमा विमला र केटाका बुबा चतुर्मान तामाङविरुद्ध उजुरी दर्ता गराएको उनले बताइन् ।

स्थानीय शिक्षक जगन तामाङले पनि बालबिबाह भएको जानकारी आएको बताए । बिहेपछि बालिका बेहुलाकै घरमा रहेको बताइएको छ । 

सुनिताले आफूले बालबिबाहविरुद्ध उजुरी गर्दा स्थानीय टाठाबाठा भनिनेहरुले अनेकन मानसिक तनाव दिएको समेत गुनासो गरिन् । उनका अनुसार  उजुरीपछि सम्बन्धितलाई आइतबारका लागि प्रहरी कार्यालयमा छलफलमा बोलाइएको छ । 

तामाङ बाहुल्य रहेको तारकेश्वर ५ मा यसअघिपनि बालबिबाह हुने गरेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?