टिचिङको गेटमै यसरी हुन्छ मोलमोलाई

काठमाडौं ।
मिति : २९ माघ २०७५, मंगलबार
समय : बिहान १०ः७
स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शैयामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँदैन । निर्धारित समयमा अस्पतालमा आउनुपर्ने धेरै चिकित्सक अस्पतालमा देखिँदैनन् ।
अस्पतालका केही चिकित्सकहरू भने अस्पतालमा बेड नभएको बहाना बनाउँदै गम्भीर बिरामीलाई राम्ररी हेर्दै नहेरी निजी अस्पतालमा रेफर गर्न आतुर देखिएका छन् ।

बिरामीको उपचारमा दत्तचित्त भएर लाग्ने प्रमुख उद्देश्यका साथ यो पेसामा संलग्न अधिकांश चिकित्सक समयमा आएको देखिँदैन । यस्तै, व्यग्रता र निराशाबीच बिरामी र आफन्तले पटकपटक कति बजे चिकित्सक आउँछन् भन्ने प्रश्न त्यहाँ कार्यरत कर्मचारी, नर्स र सुरक्षागार्डलाई सोध्ने गरेको दृश्य त्यहाँ पुग्ने जोकोहीले पनि सजिलै सुन्न सक्छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र तिनका आफन्तले दिनहुँ भोग्ने यस्ता समस्याप्रति न चिकित्सक, न अस्पताल प्रशासन, न त सरकारले नै ध्यान दिएको पाइन्छ । अस्पतालका चिकित्सक र कर्मचारी सेवाको भावनाभन्दा पनि जागिर खाने र समय कटाउनेतर्फ बढी केन्द्रित भएको देखिन्छ ।
एक्कासि छाती दुख्ने समस्याबाट पीडित काठमाडौंकी ८१ वर्षीया रमिता श्रेष्ठ आइतबार बेलुकी अस्पतालमा भर्ना भएकी थिइन् । इमर्जेन्सी वार्डमा उनको उपचार भइरहको छ । उनलाई अस्पतालको बेडमा भर्ना गरेर उपचार गर्नुपर्नेमा अन्यत्रै रेफर गर्न अस्पताल प्रशासनले दबाब दिइरहेको छ ।
उनका आफन्त समित श्रेष्ठले भने, ‘के गर्नु आकस्मिक कक्ष (इमरजेन्सी)मा ल्याइयो । चिकित्सकले भर्ना गर्नुपर्ने भनेका छन् । तर, अस्पताल प्रशासनले अन्यत्रै रेफर गर्नुहोस्, भर्ना गर्ने ठाउँ छैन भनेका छन् ।’
बाहिर केही व्यक्तिहरू एम्बुलेन्स तथा ट्याक्सीनजिकै कुनै अस्पतालमा बिरामीलाई लैजान कुराकानी गरिरहेका देखिन्छन् । टिचिङले कतिबेला बिरामी रेफर गर्ला र त्यसरी रेफर गरिएका बिरामीका आफन्तसँग मोलमोलाई गरी आफ्नै अनुकूलको अस्पतालमा लैजान पाउँला भन्ने आसमा ती व्यक्तिहरू मोलमोलाई गरिरहेका देखिए । टिचिङकै कतिपय कर्मचारीहरूमाथि समेत बिरामी रेफर गरेर अन्य अस्पतालसँग कमिसन खाने गरेको आरोप लाग्दै आएको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?