नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको यस्तो छ राजनीतिक यात्रा

लोकपथ
156
Shares

काठमाडौं । नेपालको उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार संघिय संसद भवनको कार्यालयमा उपराष्ट्रपतिका लागि भएको मतदानबाट ३० हजार ३२८ मतभार प्राप्त गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ जना सांसदको मत पाएका थिए । यादवको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र राष्ट्रिय जनमत पार्टीकी ममता झा थिए । जसमा शाक्यले १६ हजार ३ सय २८ र ममता २ हजार ५३७ मतभार प्राप्त गरेका थिए ।

रामसहायको राजनीतिक पृष्ठभूमी

२०२७ साल साउन ९ गते बारास्थित सिम्रौनगढ नगरपालिका–३ मा जन्मिएका यादवको राजनीतिक पृष्ठभूमीबारे बुझ्न २०४७ सालतर्फ फर्कनुपर्छ । २०४७ सालबाट उनी नेपाल सद्भावना पार्टीमा आबद्ध थिए ।

राजनीतिमा आउनुपूर्व यादवले शिक्षण पेसामा १७ वर्ष बिताए । स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका उनले एकपछि अर्को छलाङ मार्न सफल भएको यादवको पृष्ठभूमीले देखाउँछ । साथै, शिक्षण पेसामा रहँदा उनले नेपाल शिक्षक मञ्चको केन्द्रीय पदाधिकारीसम्म पुगेका थिए ।

यहीक्रममा उपेन्द्र यादवको नेतृत्वमा संघीय समाजवादी फोरम पार्टी खुल्यो । यही पार्टीको २०६० सालमा उनी बारा जिल्लाको संस्थापक अध्यक्ष भए । २०६५ देखि ०७५ सम्म उनी पार्टीको महासचिव भएर काम गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनका क्रममा यादवले पाँच पटकसम्म प्रहरी हिरासतमा परेका थिए ।

यादवको संसद यात्रा

यादवले पहिलो संविधानसभाको निर्वाचनबाटै संसदको ढोका खोलका थिए । त्यतिबेला उनी समानुपाितक प्रणालीबाट सभासद् भइ अन्तर्राष्ट्रिय सम्बन्ध र संविधानसभाको संवैधानिक समितिको सदस्य भइ काम गरेका छन् । त्यस्तै, २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा बारा २ बाट निर्वाचित भइ राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका काम गरेका छन् ।

त्यसैले गत मंसिरमा सम्पन्न निर्वाचनमा बारा २ बाट यादव १३ हजार ८ सय २२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

बाबु प्रसादराय यादव र आमा सिंहवादेवी यादवको कोखका जन्मिएका यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । कृषि विकास र राजनीतिमा रुचि राख्ने यादवले स्नातक तहसम्म अध्ययन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?