अधिकांश नगरपालिकाहरुमा अव्यवस्थित शहरीकरण बढेको छः प्रधानमन्त्री देउवा

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमवार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए । उनले स्थानीयतहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए । उनले जनताको काम बिना झन्झट, छिटो, छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभुति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासको लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक रहेको पनि बताए । उनले अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका बताए । उनले काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘संविधानले स्थानीय तहलाई विकास निर्माण, सेवाप्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । स्थानीय सरकार जनताको घर, आँगनको सरकार भएकाले नगरपालिकाहरुले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्न आवश्यक छ । जनताको अपेक्षा र आवश्यक्तालाई उचित सम्बोधन हुनेगरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न सक्नुपर्छ । स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक छ । स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो, नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्छ । जनताको काम बिना झन्झट, छिटो, छरितो बिना मोर मुलाइजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभुति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक छ । जनताले लिने सबै सेवाहरु बिना झन्झट पूरा गर्ने प्रवन्ध मिलाउन आग्रह गर्छु । मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक छ । एकीकृत तवरले पूर्वाधारलाई विकास गर्न आवश्कय छ । आज मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?