लोलाङ हाइटमा ट्रकले किचेर बालकसहित दुईको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा मालवाहक ट्रकले किचेर २ जनाको ज्यान गएको छ । आज (शुक्रवार) बिहान १० बजेतिर लोलाङ हाइटनजिकै ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमा र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको ना ६ ख ७८२६ नम्बरको ट्रकले बाटोमा हिँडिरहेका यात्रुलाई ठक्कर दिएको थियो । ठक्करपछि घटनास्थलमै मृत्यु हुनेमा गोरखा, शहीद लखन गाउँपालिका–७ घर भई लोलाङ बस्दै आएकी ७० वर्षीया वृद्धा तिलकुमारी तिवारी भएको प्रहरीले जनाएको छ । यस्तै उनका नाति साढे तीन वर्षीय आजित तिवारीे गम्भीर घाइते भई ग्रीन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएकी लोलाङ हाइट बस्ने साबित्री पुडासैनीको भने उपचार भइरहेको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको छ । दुर्घटनाग्रस्त क्षेत्रमा स्थानीयहरु जम्मा भएका छन् ।

तस्वीरः नवराज पाण्डेको फेसबूकबाट
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?