व्यवसायिक जीवनमा फेल नभएको म राजनीतिमा पनि फेल हुन चाहान्न : उद्योगपति चौधरी

लोकपथ
65
Shares

बर्दघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ का मतदाताका घरमा चुनावी प्रचारमा छन् । निर्वाचनलाई लक्षित हुँदै प्रत्येक घरको समस्या बुझ्न चौधरी मतदाताका घरमा गएका हुन् ।

दक्षिण एसियाकै एक मात्र डलर अर्बपति चौधरीले आफ्नो जीवनको ६५ वर्षमा कहिल्यै फेल नभएको बताएका छन् । ‘६५ बर्षको उमेरमा कहिल्यै फेल नभएको म यहाँ विकास गर्छु भनेर आएको हुँ विकास गर्न सकिन भने फेल हुन्छु । यत्रो वर्षमा फेल नभएको मान्छे यहाँ फेल हुन आएको होइन’ उनले भने ।

नेपालका ठाउँ–ठाउँमा उनका सफल व्यवसाय छन् । हजारौँलाई रोजगारी दिएको चौधरी गु्रपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि चौधरी हुन् ।
जुनैसुकै क्षेत्रमा राजनीति भएपनि सही राजनीति कसैले गर्न नसकेको उनको दाबी छ । ‘राजनीतिमा त म पहिलेदेखि नै छु । संसदमा थिएँ । वडामा गएर चुनाव लडेँ, निर्विरोध भएँ ।’ उनले भने ।

अहिलेकै राजनीतिक शैली र प्रवृत्तिबाट परिवर्तन सम्भव नदेखेरै आफू प्रत्यक्ष राजनीतिमा आएको उनको भनाइ छ । ‘विकास र समृद्धिका लागि राजनीति र शासन व्यवस्थाको केन्द्रमा आर्थिक प्रणालीलाई सन्तुलन राख्नुपर्ने भएकाले म राजनीतिमा आएको हुँ’ चौधरीले भने ।

कुशल व्यवस्थापकका रूपमा आफ्नो उद्योग, व्यवसायलाई सफल पारेजसरी नै राजनीतिमार्फत देशलाई सफल बनाउने चौधरी बताउँछन् । ‘यति धेरै राजनीति हुने देशको आर्थिक, सामाजिक चित्र हेर्नुस् त, कति भयानक छ ?’, उनले प्रश्न गरे । तर, आफ्नो त्रुटि स्वीकार्न कुनै पार्टी वा नेता तयारै छैनन् । आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न कुनै पार्टी गम्भीर नभएको उनको आरोप छ ।

उनले ‘म संसदमा बसेँ व्यवसायसँगै निजी क्षेत्रका संघ तथा संगठनहरुको नेतृत्व पनि गरेँ । ती संस्था शक्तिशाली पनि भए । तर, मैले स्वीकार्नुपर्छ, जनताका लागि ठूलो लाभ हुनेगरी परिवर्तन गर्न सकिनँ । परिवर्तन गर्ने भनेको राजनीतिबाटै हो भन्ने कुरा मैले महसुस गरेँ । सबैभन्दा ठूलो नीति भनेकै राजनीति हो । अर्कै क्षेत्रमार्फत मैले एउटा टोलमा परिवर्तन ल्याउन सकौँला, एउटा ग्राम बनाउन सकौँला, धाम बनाउन सकौँला, चौधरी ग्रुप बनाउन सकौँला । तर, राष्ट्रव्यापी परिवर्तन ल्याउन नसकिने रहेछ ।

म यहाँ बसेर देश बनाउन सक्दिन । देश बनाउन मैले तय गरेका भिजन लागू गर्न आफ्नो हस्ताक्षर चल्ने ठाउँमा पुग्नै पर्छ । काठमाडौंको बुढानिलकण्ठ किन २ वटा बन्न सकेन त ? ताकि मेरो एउटा दस्तखतले ५० वटा बूढानीलकण्ठ स्कुल बनाउन सकियोस् । ५० वटा ग्राम बनाउन सकियोस् । ५० वटा विशेष आर्थिक क्षेत्र बनाउन सकियोस् । यस्ता थुप्रै योजना लागू गर्न सकिन्छ ।’

उनले थपे, ‘बिजनेस म्यान भनेका पैसाको थैली मात्र हुन् भन्ने सोच राजनीतिक दलहरूले त्याग्नुप¥यो । भिजन र प्रभावकारी योजना भएकैले कुनै व्यवसायी सफल बनेको हुन्छ । उ सँग देश बनाउने आइडिया पनि हुन्छ ।’ एक राजनीतिज्ञमा व्यवस्थापनसम्बन्धी ज्ञान पनि हुनुपर्ने उनको तर्क छ ।

एउटा विनोद चौधरी मात्रै होइन, आ–आफ्नो क्षेत्रमा सफल भएका, कुशल व्यवस्थापक, देशका लागि कार्यान्वयनयोग्य, जनमुखी भिजन भएकाहरू राजनीतिमा आउनैपर्छ । मेरो सक्रियता एउटा सन्देश पनि हो’, उनले भने ।

राजनीतितिर धारे हात लाउँदै देश बनेन भनेर आफूचाहिँ यसबाट नपन्छिन उनले क्षमता भएकाहरूलाई आग्रह गरेका छन् । अनि राजनीतिमा युवाहरूको दबावमूलक सहभागितामा जोड दिएका छन् । दलहरूले पनि नवीन र प्रभावकारी योजना भएका व्यक्तिहरूलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ ।

‘पहिलोचोटि संविधान लेख्ने जिम्मेवारी थियो । त्यो बेला संविधानसभामा आएको ठूलो दल फरक सोच र सिद्धान्तको थियो । अलग किसिमको सोचलाई उनीहरूले अगाडि बढाइरहेका थिए । यस क्रममा देशलाई हानि हुने अव्यवहारिक र अवैज्ञानिक कुराहरू संविधानमा नपरून् भनेर म जस्ता व्यवसायी संविधानसभामा गएका थियौँ’, उनले भने ।

कुनै पार्टीको सदस्यका रूपमा भन्दापनि आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेर आफूसहितका केही व्यवसायीहरू सरसल्लाह गरेरै विभिन्न दलको कोटाबाट संविधानसभामा गएको उनले बताए । त्यहाँ आफूहरू खरो रूपमा उत्रेको उनको दलिल छ ।

त्यसपछि आफूलाई पार्टीका नेतासँग राम्रो सम्बन्ध भएर वा हाउसमा बोलेर मात्रै परिवर्तन सम्भव नहुने रहेछ भन्ने महसुस भएको चौधरीले बताए । ‘त्यसका लागि त खेलाडी नै हुनुपर्ने रहेछ । त्यसैले स्पष्ट भिजन र नयाँ जोसका साथ पूर्णकालीन राजनीतिमा आएको हुँ । जनताले मलाई पत्याउनेछन’, उनले विश्वाससमेत प्रकट गरे ।

मुलुकको आर्थिक समृद्धि नै आफ्नो राजनीतिक सपना भएको चौधरीले बताए । ‘आफ्ना लागि मेरो सपना केही छैन । नेपालबाट पढाइका लागि वार्षिक १ खर्ब रुपैयाँ विभिन्न देशका क्याम्पस र विश्वविद्यालयमा जाँदैछ । नेपालमा त्यस्तै अब्बल क्याम्पस र विश्वविद्यालय स्थापना गरेर यहाँबाट बाहिरिने र्खबौँ रुपैयाँ रोक्दै विदेशी पैसाचाहिँ भित्राउने मेरो सोच छ । यति मात्रै होइन, हरेक क्षेत्रमा यस्ता योजना लागू गर्न सकिन्छ,’ उनले भने ।

२०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी १ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् । यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । कांग्रेसका लागि यस पटक जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी चुनौती बनेका छन् । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन् । संसद् छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँच पल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?