अनुसन्धानमा रहेका व्यक्ति उम्मेदवार भए जानकारी गराउन आयोगको आग्रह

लोकपथ
91
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरुमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ ।

आयोगले नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी गराउन यस्तो आग्रह गरेको हो । आयोगले निर्वाचन आयोगसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेकाले निर्वाचमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनशायले निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन सम्बन्धित नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई आग्रह गरेको हो ।

उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अयोग्य व्यक्तिको उम्मेदवारी परेको खण्डमा समयमा नै निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आग्रह गरे ।

उनले नेपालमा अनुसन्धान गर्ने निकायहरुः नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धिकरण लगायतका निकायहरुले उक्त उम्मेदवारबिरुद्ध मुद्दा परेर अनुसन्धान भइरहेको बारेमा जानकारी गराए आयोगले सक्रिय रुपमा त्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनतः कारबाही गर्ने बताए ।

उपन्यायाधिवक्ता वाग्लेले भने ‘नेपालमा अनुसन्धान गर्ने निकायहरु भनेको नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धिकरण भयो यी लगायत विभिन्न निकायहरु छन् ।

अनुसन्धान गर्दै गर्दा एकीकृत किसिमको डाटा प्रणाली अर्थात् अनुसन्धान गर्दै गरेको कुनै व्यक्तिको बारेमा उम्मेदवारी भयो भने त्यो आयोगको सिस्टमले क्याच गर्न सक्ने वा त्यो मान्छेको बिरुद्ध उजुरी परेको छ अनुसन्धान हुँदैछ भनेर सिस्टमले बुझ्ने संयन्त्र छैन ।

यसको लागि सबै निकायहरुले कुनैपनि अयोग्य व्यक्तिको उम्मेदवारी पर्‍याे भने उम्मेदवारी परिसकेपछि २३ गते नै जसको उम्मेदवारी पर्छ, त्यही दिन बेलुका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले उम्मेदवारी पर्नेहरुको नामावली सार्वजनिक गर्नुहुन्छ ।’

उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यता र अयोग्यताको बारेमा स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरे ।

उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा पनि उम्मेदवारको योग्यताको बारेमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उम्मेदवार हुने कुनैपनि उम्मेदवारले म कुन पदमा उम्मेदवारी दिँदैछु र त्यो पदमा उम्मेदवारी दिन म योग्य छु कि छैन भनेर स्वःघोषणा आफैँले गर्नुपर्ने बताए । उनले स्वःघोषणामा उम्मेदवारी दिने कोहीपनि उम्मेदवारले पछि गएर अयोग्य प्रमाणित भएमा व्यक्ति आफैँ पूर्णतः जिम्मेवार रहने बताए ।

उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भने त्यही पदमा उम्मेदवारी दिने अर्को व्यक्तिले यथेष्ट प्रमाणसहित उजुरी दिएपछि उजुरी सत्य ठहरिए उम्मेदवारी बदर हुने बताए ।

उनले भने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यता र अयोग्यताको बारेमा स्पष्ट कानूनी व्यवस्था छ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा पनि प्रष्ट व्यवस्था छ, त्यसमा उम्मेदवार हुने कुनैपनि उम्मेदवारले म कुन पदमा उम्मेदवारी दिँदैछु र त्यो पदमा उम्मेदवारी दिन म योग्य र अयोग्य छु वा छैन भनेर स्व घोषणा आफैँले गर्नुपर्छ ।

स्वघोषणामा उम्मेदवारी दिने कोहीपनि उम्मेदवारले मलाई कुनैपनि कैद सजाय भएको छैन, वा म उम्मेदवारी दिन अयोग्य छैन, यदी म अयोग्य छु भन्नेकुरा पछि प्रमाणित भएमा त्यसको पूर्णतः जिम्मेवारी म आफैँ हुनेछु भनेर स्वघोषणामा गर्नुपर्ने भएको कारणले मुलतः योग्यता र अयोग्यताको सबालमा व्यक्ति आफैँ पूर्णतः जिम्मेवार रहने विषय रह्यो ।

त्यसपछि कुनै अयोग्यता भएको व्यक्तिले मनोनयन गर्नुभयो भने त्यही पदमा उम्मेदवारी दिने अर्को कुनै व्यक्तिले उहाँ प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य पदमा उम्मेदवार हुन योग्य हुनुहुन्न भनेर कसैले उजुरी दिनुभयो भने तत्काल त्यो उजुरी छानबिनको क्रममा सम्बन्धित निर्वाचन अधिकृतले वा मुख्य निर्वाचन अधिकृतले छानबिन र जाँचबुझ गर्नुहुन्छ ।

कानूनतः उहाँ अयोग्य भएमा त्यस्तो उम्मेदवारी बदर हुन्छ । प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भन्नेकुराको जानकारी भएको जानकारी भएपछि जोसुकैले उजुरी दिन पाउने व्यवस्था त छैन, तर त्यही पदमा उम्मेदवारी दिने अर्को कुनै व्यक्ति (प्रतिष्पर्धी) व्यक्तिले फलानो उम्मेदवारी दिने व्यक्ति अयोग्य हुनुहुन्छ भनेर उहाँले उजुरी दिन पाउने व्यवस्था छ ।

त्यही उजुरीको आधारमा उहाँले यथेष्ट प्रमाण राखेर उजुरी गरिसकेपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतले छानबिन गर्नुहुन्छ । त्यसपछि उजुरी सत्यतथ्य ठहरियो भने त्यस्तो उम्मेदवारी बदर हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?