गौरा पर्वमा नाच्न राजधानीवासीलाई टुँडिखेलमा निम्तो

काठमाडौं । सुन्दर सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको महत्वपूर्ण संस्कृति तथा चाडपर्व गौरा पर्व मनाउनका लागि प्रशंसा संरक्षण समूह काठमाडौंले राजधानीवासीलाई ‘चुले निम्तो’ गरेको छ । 

प्रत्येक वर्ष भदौ कृष्ण जन्माष्टमीको पछिल्लो दिन मनाइने गौरा पर्व यसवर्ष पनि यही महिनाको १८ गते सोमवार टुडिखेलमा बृहत कार्यक्रमको आयोजना गरि मनाउने तयारी भइरहेको छ ।

प्रशंसा संरक्षण समूहका संस्थापक अध्यक्ष अम्वादत्त भट्टले राजधानीमा बसोवास गर्ने सुदूर तथा मध्यपश्चिम क्षेत्रका मात्र नभई अन्य समुदाय तथा क्षेत्रका कवि तथा साहित्यकार, कलाकार, पत्रकार र बुद्धिजीवी र संस्कृतिविद् सबैलाई गौरा पर्वमा सहभागी हुन आमन्त्रण गरेका हुन् ।

गौरा पर्व जातीय छुवाछूत, विभेद मुक्त समाजका अतिरिक्त शान्ति, सद्भाव र मेलमिलापको पर्व भएको चर्चा गर्दै अध्यक्ष भट्टले गौरा पर्वमा गौरा माईको पूजा आराधना हुने भएकाले महिलाप्रतिको सम्मान हुने बताए । 

गौरा माईको मूर्ति निर्माण गरी पूजा आराधना भने चार दिन अघिबाट शुरु भएको हो । उनले १८ गते सोमवार गौरा पर्वको अवसरमा दिउँसो १२ बजे धार्मिक कार्यक्रम र त्यसपछि सांस्कृतिक कार्यक्रम आयोजना हुने जानकारी दिएका हुन् । 

गौरामा देउडा र न्याउल्या खेल खेलिने भएकाले यस पर्वको महत्व दिनप्रति दिन बढ्दै गएको छ । गौरा पर्वलाई सूदूरको मात्र नभई शान्ति र सदभावका अनुयायी सबैको पर्वको रुपको मनाउनु पर्ने तर्क बरिष्ठ देउडा गायक यज्ञराज उपाध्यायको छ ।

गौरा पर्वले सामाजिक विभेद मुक्त समाज, जाति, छुवाछूत, धनी गरिव कुनै किसिमको विभेदलाई पश्रय दिँदैन । गायक उपाध्यायले भने, ‘यो पर्वको गरिमा र महत्वलाई मुलुकभर फैलाउन सके समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्न सहयोग पग्न सक्छ ।’ 

उनका अनुसार, सामान्य तय गौरा पर्व पाँच दिनसम्म मनाउने चलन छ । गौरा शुभारम्भ भएको पहिलो, दोस्रो, तेस्रो, चौथो दिनको आ–आफ्नै किसिमको धार्मिक महत्व रहेको छ । त्यस्तै, अन्तिम दिनलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिन्छ । 

गौरा पर्वमा पाँच प्रकारका अन्न तथा गेडागुडीबाट बिरुडा बनाउने चलन छ । विरुडालाई गौरा पर्वको प्रसादको रुपमा ग्रहरण गरिन्छ । 

त्यस्तै, गौरा माइ तथा गौराको मूतिपनि कास, कुश र साउँबाट बनाउने चलन छ । जुन परम्परा एवं संस्कृति निकै रोचक तथा अनौठो रहेको छ । गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछुत मानेमा पाप लाग्ने धार्मिक विश्वास रहेको । 

देउडा खेल्दा सबैले कुममा कुम र हातमा हात जोडेर खेल्नुपर्ने हुन्छ । देउडा तथा न्याउल्या खेल गौरा पर्वको महत्वपूर्ण संस्कृति हो । गौरामा पर्वमा महिलाहरुले मागल गाउने गर्छन् । मागल गायक एक किसिमको धार्मिक लोकगाथा हो । 

विगत २० वर्षदेखि राजधानीमा गौरा पर्व मनाउँदै आएको प्रशंसा संरक्षण समूहले राजधानीवासीलाई गौरा पर्व मनाउनका लागि चुलिनिम्तो गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?