निर्वाचन प्रक्रियाबारे प्रयोगात्मक सिकाइका लागि विद्यालयमै मतदान

RSS
35
Shares

विद्यालय शिक्षामा सैद्धान्तिक सिकाइ मात्रै हुँदा विद्यार्थी व्यावहारिक हुन नसकेको गुनासो आइरहेको सन्दर्भमा नुवाकोटको बेलकोटगढी–११ स्थित एक सामुदायिक विद्यालयले प्रयोगात्मक सिकाइमा फरक अभ्यास गरेको छ ।

उपल्लो तिगाउँस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा १० को सामाजिक विषयअन्तर्गत ‘निर्वाचनको प्रक्रिया’ शीर्षकको पढाइमा लागि आज विद्यालय परिसरमा कक्षा तीनदेखि १०का विद्यार्थीको सहभागितामा नमूना निर्वाचन गराएको छ । नमूना मतदानबाट विद्यार्थीको टोली नेता र उपनेतासमेत चयन गराइएको छ । मतदानामा ३० जना कूल मतदातामा रहेकामा २६ जनाले भाग लिएका थिए । उनीहरूलाई लाइन लगाइएर मतदानमा सहभागी गराइएको थियो । मतदान सकएपछि विद्यार्थीले नै सुरक्षासहित मतपेटिकलाई काँधमका बोकेर विद्यालयमै तयार गरिएको मत गणनास्थलमा लगेका थिए भने निर्वाचन आयोगका आयुक्त र निर्वाचन अधिकृतका रुपमा विद्यार्थी नै परिचालित थिए ।

मतगणनाको परिणामअनुसार टोली नेतामा निर्जला पनेरूले १९ र प्रतिस्पर्धी नमूना तामाङले सात मत प्राप्त गरेपछि पनेरुलाई विजयी घोषित गरियो । उपनेतामा अशिम पाण्डेले १५ मत ल्याएर विजयी भएका थिए भने प्रतिस्पर्धी अमन लामाले ११ मत प्राप्त गरेका थिए । विद्यालयका सामाजिक विषय शिक्षक सुदर्शन खतिवडाले चार वटा हाउसका टोली नेता र उपनेता, १० वटा कक्षाका नेता र उपनेता गरी २६ ले मतदान गरेका थिए । पहिलो चरणमा विद्यार्थीले नै ती टोली नेता र उपनेता छानेका थिए । अन्य विद्यार्थीले रमाइलो मानेर हेरेका थिए । विद्यालयमा कूल ४७६ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रधानअध्यापक शम्भु तिवारीले निर्वाचन प्रक्रियाबारे विद्यार्थीमा सिकाइ हुनाका साथै टोली नेता चयनकार्य पनि सम्पन्न गराइएको बताए । उनले यसले विद्यार्थीमा नेतृत्व विकास र मतदाता शिक्षाबारेमा ज्ञान, अभ्यास बढेको जनाउँदै सो प्रक्रियामा शिक्षकले सहजीकरणको काम गरेको जनाए। विद्यालयले निर्वाचनमा प्रयोग हुने सामग्री स्थानीयरूपमै न्यून लगानीमा गरेको थियो । स्थानीय पसलबाट खाली बाक्सा ल्याएर तथा मतपत्र विद्यालयमै तयार गरिएको थियो भने मतदाता नामावली कक्षाकोठामा प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?