यस्तो छ सातै प्रदेशहरुको आर्थिक र सामाजिक स्थिति

काठमाडाैं : नेपाल संघीय प्रणालीमा गएको छ । स्थानीय चुनावताका प्रदेश र स्थानीय सरकार गठन हुनासाथ गाउँगाउँमा सिंहदरबार पुग्ने अपेक्षा नागरिकमा थियो । तर, नागरिकमैत्री शासनपद्दती र आचरणको विकास नहुँदा संघीय मुलुकका प्रदेशहरुमा आर्थिक र सामाजिक बेमेल बढेको पाईएको छ । सरकारले आईतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार अधिकांश सूचकहरुमा प्रदेश नम्बर दुई कमजोर देखिएको छ । 

गरिबी 
नेपालको प्रदेश नं. ३ मा बहुआयामिक गरिबीको दर सवैभन्दा कम छ । प्रदेश १, ३ र ४ मा पनि यो दर राष्ट्रिय औषतभन्दा कम नै छ । तर, कर्णाली प्रदेश र दुई नम्बर प्रदेशमा चाहिँ यस्तो गरिबीको दर सवैभन्दा बढि छ । 

शिक्षा
प्रदेश नम्बर दुईमा बस्ने मानिस अन्य क्षेत्रको तुलनामा सवैभन्दा बढि निरक्षर रहेको पाईएको छ । प्रदेश नम्बर १ र ३ मा चाहिँ राष्ट्रिय औषतभन्दा बढि नागरिक साक्षर रहेको तथ्यांक छ । 
सवैभन्दा बढि विद्यालय प्रदेश नम्बर ३ मा खोलिएको छ भने सवैभन्दा कम कर्णाली प्रदेशमा छ । ४ नम्बर प्रदेशमा अन्य प्रदेशको तुलनामा विद्यालय र विद्यार्थी संख्या अनुपात बढि छ । तर, प्रदेश नम्बर दुई यो मामिलामा पनि सवैभन्दा पछाडि देखिएको छ । प्रदेश नम्बर २ र ५ मा कक्षा १ देखि ८ सम्मको खुद भर्नादर राष्ट्रिय औषत (९२.३) भन्दा पनि कम छ । 

आयु 
नेपालको राष्ट्रिय औषत आयु ६८.८ बर्ष हो । प्रदेश नम्बर २, ३ र ४ का नागरिकको आयु यो भन्दा पनि बढि छ । तर अन्य प्रदेशका नागरिकमा भने कम पाईएको छ । 
सडक
प्रदेश नम्बर ३ मा सवैभन्दा बढि सडक विस्तार भएको छ । प्रदेश नम्बर ७ अर्थात साविकको सुदरपश्चिमाञ्चल विकास क्षेत्रमा अन्य प्रदेशको तुलनामा सडकको लम्बाई कम छ । 

उद्योग 
प्रदेश नम्बर ३ मा सवैभन्दा बढि उद्योग छ भने कर्णाली प्रदेशमा सवैभन्दा कम उद्योग खोलिएका छन । 

नेपालको संघीय प्रणाली :
७ वटा प्रदेश
७५३ स्थानीय तह
६ महानगरपालिका
२७६ नगरपालिका
४६० गाउँपालिका

ऊर्जा 
कर्णाली र प्रदेश नम्बर २ मा हालसम्म जलविद्यूत उत्पादन हुन नसकेको सरकारले जनाएको छ । 

सिंचाई 
कर्णाली प्रदेशमा खेतीयोग्य जमिनको २२.९ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ । अन्य सूचकमा पछाडि प्रदेश नम्बर दुईमा चाहिँ अन्य प्रदेशभन्दा बढि अर्थात ६६.३ प्रतिशत खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको छ । प्रदेश नम्बर २ मै खेती गरिएको जमिनको क्षेत्रफल बढि छ, तर प्रदेश नम्बर ३ मा चाहिँ खेतीयोग्य जमिन भएपनि अन्य प्रदेशको तुलनामा कम क्षेत्रफलमा मात्रै खेतीपाती हुने गरेको छ । जमिन बाँझो फर्किएको छ । 

वित्तीय सेवा 
वाणिज्य/विकास बैंक र वित्त कम्पनीले प्रदेश नम्बर ३ मै बढि शाखा खोलेका छन । वैदेशिक संघीय राजधानी काठमाडौं यही प्रदेशमा रहनु र वित्तीय संस्थाका शाखा कार्यालय पनि यही प्रदेशमा बढि भएकाले वित्तीय पहुँच बढि देखिएको हो । प्रतिशाखा जनसंख्या अनुपात प्रदेश नम्बर दुईमा बढि छ । तर, पहाडी र दुर्गम भू–भाग भएको प्रदेश नम्बर ४ मा यो अनुपात कम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?