दोस्रो खेलमा नेपालले गर्नुपर्ने परिवर्तन

भारतविरुद्ध नेपाल

काठमाडौं। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि (आईतवार) खेलिँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने दोस्रो मैत्रीपूर्ण खेल नेपालको लागि अझै कठिन हुने अपेक्षा गरिएको छ।

पहिलो खेलमा नेपाललाई भारतविरुद्ध जित निकाल्ने शानदार मौका रहेको थियो। अगस्ट ३० मा नेपाल आएको भारतीय टोलीले नेपालसँगको पहिलो खेल अगाडि, मात्र दुई अभ्यास सेसन गर्ने मौका पाएको थियो। तीमध्ये नेपालविरुद्ध पहिलो खेलको सुरुवाती ११ मा परेका ६ भारतीय खेलाडीले त राष्ट्रिय टोलीसँग प्रशिक्षण नै गरेका थिएनन्।

May be an image of 11 people, people playing American football, people standing and outdoors

भारतीय क्लब बेंगलूरु एफसी र एटीके मोहन बगानले एएफसी कपमा सहभागिता जनाएको कारण यी क्लबका खेलाडी अगस्ट २८ र २९ मा मात्र राष्ट्रिय टोलीमा सम्मिलित भएका थिए। त्यसको बावजुद भारतका प्रशिक्षक इगोर स्टिमाचले आफ्नो सुरुवाती ११ मा यी क्लबबाट ६ जना खेलाडी राखेका थिए।

बेंगलूरुबाट स्टिमाचले कप्तान सुनिल क्षेत्रीसहित फरवार्ड सुरेश सिंह वाङजाम तथा गोलरक्षक गुरप्रीत सिंह सान्धुलाई सोझै सुरुवाती ११ मा समावेश गरेका थिए भने मोहन बगानका सुभाशिश बोस, लिस्टन कोलाको र मनभिर सिंह पनि सुरुवाती ११ मा सामेल थिए।

May be an image of 3 people and people playing sport

भारतले पहिलो खेलको पहिलो हाफमा खराब प्रदर्शन गरेको थियो। भारतको खेल हेर्दा नेपाल र भारतबीचको फुटबल स्तरमा खासै फरक छ जस्तो देखिएन। यद्यपि दुई महिनादेखि बन्द प्रशिक्षण गरिरहेको नेपाली टोलीले भारतीय रक्षापंक्तिको ‘सिल्ली मिस्टेक’मार्फत अग्रता लियो। यतिभन्दा नेपाली टोलीले ‘अफ द बल’ सिर्जना गरेको प्रेसरलाई नराम्रो भन्न खोजेको होइन। अन्जन विष्टको त्यो रन र भारतीय गोलरक्षकलाई बिट गरेर गोल गर्ने चतुर्याईं तारिफयोग्य थियो।

तर भारतले त्यस्तो किसिमको गल्ती फेरि गर्ने छैन। त्यो निश्चित छ। त्यो बाहेक नेपालले पहिलो हाफको खेलमा खासै विश्वसनीय एट्याक गर्न सकेको थिएन। भारतका प्रमुख रक्षक चिङलेन्साना र गोलरक्षक गुरप्रीतबीच भएको गल्तीले साफ देखिन्थ्यो, भारतीय टोलीको अभ्यासमा कमी रहेको छ।

May be an image of 1 person, playing American football, ball, outdoors and text that says "Nepal KTM CTY_ KT CT"

भारतीय टोलीले दोस्रो हाफमा आफ्नो गल्ती सुधार्ने मौका पायो र उसले त्यो गर्यो पनि। खराब पहिलो हाफ खेलेको भारतले दोस्रो हाफको सुरुवातमा नै चार खेलाडी परिवर्तन गर्यो। जसमध्ये मैदान प्रवेश गरेका दुई मिडफिल्डर रहिम अली र अनिरुद्ध थापाले खेल नै परिवर्तन गरिदिए।

अनिरुद्ध र रहिम दुवै जना घरेलु लिग आईएसएलमा एउटै क्लब चेन्नाईन एफसीबाट खेल्ने गर्दछन्। उनीहरूको उत्कृष्ट साझेदारी खेलको दोस्रो हाफमा प्रष्ट देखियो। भारतका लागि डेब्यू गरेका रहिम मात्र ४५ मिनेट खेलेर खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए भने अनिरुद्धले भारतको लागि बराबरी गोल गर्न सफल भए।

May be an image of one or more people, people playing American football and grass

त्यति मात्र होईन, उनीहरूको आगमन पछि भारतीय कप्तान सुनिल क्षेत्रीको खेलमा पनि सुधार आएको देखियो र उनले प्रहार गरेको लङ रेन्ज शटमार्फत नै भारतले गोल गर्न पनि सफल भएको थियो। पहिलो हाफमा एक शट पनि प्रहार गर्न नसकेका सुनिलले दोस्रो हाफमा २५ मिनेट खेल्दा तीन शानदार शट प्रहार गरेका थिए।

पहिलो खेलमा भारतको कमजोरी उसको फुल ब्याकमा देखिएको थियो। यसै सिजन बेंगलूरुबाट मुंबईमा आबद्ध भएका राहुल भेके र हैदराबादका आकाश मिस्रालाई नेपाली खेलाडीले सताइरहेका थिए। धेरै जसो खेल बायाँ भागबाट खेलेका अन्जन विष्ट पहिलो हाफमा दायाँ भागमा आएको बेला नै नेपालले गोल पनि गरेको थियो।

May be an image of 1 person, playing a sport and grass

भारतीय प्रशिक्षकले राहुल र आकाशको खराब प्रदर्शनलाई अवश्य पनि नियालेका छन्। सोही कारण उनले दोस्रो हाफमा गोवाका फूल ब्याक सेरिटन फर्नान्डेज र हैदराबादका यासिर मोहम्मदलाई मैदानमा उतारेका थिए। खेलको ५०औं मिनेटमा फर्नान्डेजकै क्रसमा सुनिलको हेडर पोस्टको केहि परबाट बाहिरिएको थियो। समग्रमा भन्नु पर्दा भोलिको खेलमा भारतले फरक रणनीति अपनाउने छ।

भारतका प्रशिक्षक स्टिमाचले पछिल्लो समय सोचेजस्तो नतिजा प्राप्त गर्न सकेका छैनन् र त्यसकै कारण उनी केही दवावमा पनि छन्। सो विषयमा प्रश्न गर्दा उनले आफु कुनै पनि दवावमा नरहेको त बताए, तर उनको भनाइमा साफ देखिन्थ्यो, भारतलाई जित कति आवश्यक छ भनेर।

May be an image of 1 person and indoor

पहिलो खेलमा भारतले डिफेन्सिभ मिडफिल्डर खेलाएको थिएन। आफ्नो मिडफिल्डको जिम्मेवारी गोवाका मिडफिल्डरद्वय ग्लान मार्टिन्स र ब्रान्डन फर्नान्डेजलाई सुम्पेको भारतले भोलिको खेलमा आफ्ना प्रमुख मिडफिल्डर प्रणय होल्डरलाई मैदानमा उतार्ने सम्भावना बलियो देखिन्छ।

प्रणय भारतका लागि अनुभवी खेलाडी हुन्। जमशेदपुरबाट व्यावसायिक फुटबल खेल्ने गरेका प्रणय ‘बक्स टू बक्स’ मिडफिल्डरका रूपमा प्रख्यात छन्। पहिलो खेलमा भारतले सोही किसिमको मिडफिल्डरको कमी महसूस गरेको थियो। त्यस्तै डिफेन्सिभ खेल सम्हाल्न भारतले जेकसन सिंहलाई पनि मैदानमा उतार्ने सम्भावना बलियो देखिन्छ। केरेलाका खेलाडी जेकसनले भारतका प्रमुख रक्षकद्वय चिङलेन्साना सिंह र शुभाशिस बोसबीच पनि राम्रो साझेदारी जमाउने निश्चित देखिन्छ।

Asian Cup 2019: Pronay Halder - I love to take responsibility | Goal.com

त्यस्तै भारतले अर्का अनुभवी रक्षक प्रितम कोताललाई पनि पहिलो खेलमा आराम दिएको थियो। एटीके मोहन बगानका राइट ब्याक कोताल भोलिको खेलमा खेल्ने सम्भावना बलियो रहेको छ। त्यस्तै पहिलो खेलमा भारतका प्रशिक्षकले मैदानलाई पनि दोष दिएका थिए। खराब मैदानमा कारण राम्रो खेल्न नसकेको बताएका स्टिमाचले भोलिको खेलमा मैदानलाई दोष दिने बाटो हुनेछैन।

कुनै पनि टोलीलाई नयाँ मैदानमा खेल्न सजिलो हुँदैन। त्यो सत्य हो। त्यसमाथि भारतले नेपालको मैदानमा झण्डै ६ वर्ष पछि खेल्दै थियो। तर दोस्रो खेलमा भने भारतलाई त्यो कुरामा पनि गार्हो हुनेछैन। भारतीय खेलाडीले नेपालको मैदान र समर्थकलाई पहिलो खेलमै चिनिसके।

May be an image of outdoors and stadium

यता नेपालको कुरा गर्ने हो भने, पहिलो खेलमा नेपालले नराम्रो प्रदर्शन गरेको होइन। तर खासै राम्रो प्रदर्शन पनि गरेको होइन। पछिल्लो २ महिनादेखि साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीबाट पहिलो खेलमा सुन्दर फुटबलको अपेक्षा गरिएको थियो। तर नेपालले काउन्टर एट्याक र लङ बललाई नै आफ्नो सहारा बनाएको देखियो। हुन त यो मैत्रीपूर्ण खेल हो, र भारतविरुद्ध प्रशिक्षक अल्मुताइरीले आयुष घलानलाई गरेको भरोसाको तारिफ गर्नुपर्ने हुन्छ। उनले युवा खेलाडी आयुषलाई भरोसा गर्दै सिधै सुरुवाती ११ मा समावेश गरेका थिए।

तर आयुषले राम्रो प्रदर्शन भने गरेनन्। पहिलो हाफको अधिकांश समय उनले धेरै गल्तीहरु गरे। वास्तवमा गल्ती गरेर नै फुटबल सिकिने हो, अनुभव बटुल्ने हो। त्यसमा कुनै पनि नराम्रो कुरा छैन। दोस्रो हाफमा आयुषलाई परिवर्तन गरियो, र मैदान प्रवेश गरे मनिष डाँगी। मनिष मैदान प्रवेश गर्नासाथ नेपालको खेलले गति लियो। उनको तिब्र गति र ‘फास्ट मुभमेन्ट’ रोक्न भारतीय रक्षकहरुलाई गार्हो भएको देखियो।

May be an image of 1 person and playing a sport

त्यस्तै मिडफिल्डमा विशाल राईको आगमन पश्चात् नेपालले मिठो ‘वान टू बल’ खेलाउन पनि सफल भएको थियो। भारतीय मिडफिल्डरलाई बल जित्न कठिन भएको थियो। तसर्थ, दोस्रो खेलमा यदि नेपालले राम्रो प्रदर्शन गर्ने हो भने मनिष डाँगीलाई सुरुवाती ११ मा स्थान दिनु पर्ने देखिन्छ। उनले राष्ट्रिय टोलीको लागि सुरुवात गरेको हेर्न नेपाली समर्थक आतुर छन्।

त्यस्तै नेपाली खेलाडीभन्दा भारतीय खेलाडी कदमा ठूला भएको कारणले एट्याकमा पनि नेपालले ‘फल्स ९’ को फरक रणनीति अपनाउँदा भारतलाई केही कठिन हुने देखिन्छ। विङमा अन्जन र मनिष, मिडफिल्डमा तेज, सुमन र नवयुगको ‘फल्स ९’, भारतविरुद्ध जित निकाल्न नेपालले बक्स बाहिरबाट सोच्नु पर्ने बेला आएको देखिएको छ।

May be an image of 5 people, people standing and outdoors

तस्बिर: एन्फा तथा एआईएफएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?