इजरायल जानका लागि आवेदन दिनेहरुले जान्नैपर्ने कुराहरू, कस्तो छ त सरकारी मापदण्ड ?

लोकपथ
650
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवरबाटै नेपाली श्रमिक पठाउनका लागि मंगलबार आवेदन दिने सूचना जारी गरेको छ । इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउने कुरा सूचनामा उल्लेख गरिएको छ ।

सरकारी मापदण्ड र योग्यताहरु

१. आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
२. आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्नेछ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
४. आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहनुपर्नेछ ।
५. आवेदक विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्नेछ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।
७. आवेदक लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा नलागेको हुनुपर्नेछ ।

विभागले सूचना जारी गरेको मितिले (साउन १२ गते) २१ दिनभित्र अनलाइनमार्फत नै निवेदन दिन सकिने विभागले जनाएको छ । निवेदन दिनका लागि विभागले अनलाइन लिङ्क तोकेको पनि जानकारी दिएको छ ।

विभागको छानबिन प्रक्रिया

विभागले प्राप्त आवेदन र पेष भएका कागजातलाई छानबिन गरी योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृत गर्नेछ । महानिर्देशकको संयोजकत्वमा छनोट समिति छुट्टै बनाइएको विभागले जानकारी दिएको छ ।

विभागले नै दरखास्त स्वीकृत भएका व्यक्तिहरूको सूची तयारी गरेर छनोट समितिमा पठाउनेछ । आवेदकहरुले अङ्ग्रेजी भाषामा परीक्षा दिनुपर्नेछ । लिखित परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मौखिक परीक्षामा सहभागी गराइने विभागले जनाएको छ ।

लागत र भिसा शुल्कसम्बन्धी के छ त ?
सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि जाँदा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ । भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाताले दिने विभागले बताएको छ । हवाई टिकट शुल्क, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम, श्रम स्वीकृतिमा लाग्ने खर्च भने श्रमिक आफैँले नै तिर्नुपर्छ ।

इजरायल र नेपालबीचको श्रम सम्झौता
इजरायल र नेपालबीच इजरायलको श्रम बजारमा नेपाली श्रमिकका लागि पुनः रोजगारी खुला गर्नेगरी गएको वर्षको सेप्टेम्बरमा अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

इजरायल र नेपालीबीच जी टु जी प्रक्रियामार्फत श्रमिक जान पाउने भएकाले इजरायली तथा नेपाली कोही पनि म्यानपावर संस्था तथा एजेन्टको यसमा संलग्नता नरहने विभागले उल्लेख गरेको छ । यदि कसैले इजरायल पठाउँछु भनी विभिन्न प्रलोभन देखाएमा हुन सक्ने सम्भावित ठगीबाट बच्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यसरी जाने कामदारको करार अवधि सुरुमा दुई वर्षको हुनेछ । त्यसपछि थप भएमा पाँच वर्षको हुनेछ । बस्नका लागि विदेशी कामदार नीतिअनुसार रोजगारदाताले नै सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्ने पनि विभागले जानकारी दिएको छ ।

इजरायली कानुनअनुसार नै नेपाली श्रमिकले पनि वार्षिक बिदा पाउनेछन् । इजरायलमा हप्ताको ६ दिन काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार नै तलब भुक्तानीको व्यवस्था गरिएको छ । यदि ओभर टाइम गरेमा समेत इजरायली कानुनअनुसार नै थप सुविधा पाइने विभागले बताएको छ ।

फारम भर्नका लागि यहाँ हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?