काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग संसद विघटनका बारेमा परामर्श गरेका छन् ।
मंगलवार (आज) संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले तीन पूर्व सभामुखहरुसँग भौतिक र एक जनासँग भर्चुअल माध्ययमबाट छलफल गरेका हुन् ।
आजको परामर्शमा सभामुख सापकोटाले पूर्व सभामुखहरुसँग संसद विघटनको अवस्थामा सभामुखको भूमिका के हुनुपर्दछ भन्ने सुझाव माग गरेका थिए ।
सभामुख सापकोटासहित पूर्व सभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती मगर र कृष्णबहादुर महराबीच त्यसबारेमा छलफल भएको थियो ।
छलफलपछि बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका पूर्व सभामुख पौडेलले राजनीतिक रुपमा देश संकटमा रहेको भन्दै त्यसबाट मुक्तिका लागि सभामुखको भूमिकाका बारेमा छलफल गरेको जानकारी दिए ।
‘हामीले अहिलेको परिस्थिती दुई किसिमले संकट देख्यौँ ।एक त राजनीतिले देशमा संकट छ भने अर्को कोरोना महामारीले देश संकटमा रहेको छ । संसदबाट समस्याको समाधान खोज्नुपर्ने बेलामा हामीले अदालतबाट समस्या समाधान गर्ने अवस्था आएको छ ।’ पूर्व सभामुख पौडलले भने ।
संविधान बेगर गएर गरिएको संसद विघटनका कारण एकातिर व्यवस्था र अर्कातिर कोरोना महामारीबाट जनताको जीवन जोगाउनुपर्ने बेला आएको बताए । त्यस्तै संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा गइसकेको कारण अदालतबाट असार मसान्तसम्म फैसला आएमा नयाँ बन्ने सरकारले नै बजेट ल्याउन सक्ने समेत बताएका छन् ।
‘एकतिर व्यवस्थाको रक्षा र अर्कातिर कोरोनाबाट जनताको रक्षा गर्नुपर्ने बेला आएको छ । अहिले नै हतारमा बजेट नल्याई असार मसान्त सम्ममा बजेट आइ सदनबाटै बजेट आउन सकिन्छ । देशको संविधानको बारेमा हामीले संविधानको बारेमा छलफल गरेका छौँ । हाम्रो संसदीय व्यवस्था हाम्रै विशिष्टता अनुसार हामीले छलफल गयौँ ।’ उनले भने ।
परामर्शपछि बोल्दै पूर्व सभामुख ओनसरी घर्तीले जनताको प्रतिनिधि सभामाथि आक्रमण भएको टिप्पणी गरेकी छिन् ।
अल्पमतको सरकारसँग संसद विघटन गर्ने अधिकार नै नहुने उनले बताएकी छिन् । संविधानमा भएका विभिन्न ४ अवस्था बाहेक अन्त अवस्थामा संसद विघटन हुन नसक्ने समेत उनको टिप्पणी रहेको छ ।
‘सभामुख सापकोटाले विषम परिस्थितीमा सभामुखको भूमिका के हुन्छ भन्ने कुरामा छलफल गर्नुभएको हो । आजको बैठकमा हामी तीन जना पूर्व सभामुखहरु भौतिक र एकजना भर्चुअल माध्यमबाट जोडिनु भएको थियो । जनताको प्रतिधिनि सभामा आक्रमण भयो । संविधानको चारवटा विकल्पहरु फेल हुने अवस्था बल्ल संसद विघटन गर्नुपर्ने व्यवस्था छ । तर उसै संसद विघटन गरिनु सरासर गलत छ ।’ उनले भनिन् ।
त्यस्तै आजको बैठकमा रक्षकले नै भक्षकको काम गरेको उपस्थित सभामुखसहित सभामुखहरुको भनाइ रहेको उनले बताइन् ।
‘रक्षकले नै भक्षकको काम गर्नु भयो । जनताले भनेको कुराप्रति हामी सबै प्रतिवद्ध हुनुपर्नेमा हामी सबैको जोड रहेको थियो र सभामुख ज्यूले पनि त्यसमा प्रतिवद्धता जनाउनु भएको छ ।’ उनले भनिन् ।
त्यस्तै संसद विघटनका बारेमा सभामुख सापकोटाले कानूनविद्हरु, अन्य सांसदहरु साथै विज्ञहरुसँग समेत छलफललाई निरन्तरता दिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया