हिमाल किन हाँसेन ?

लोकपथ
351
Shares

पिके शेर्पा- ०६२/०६३ को जनआन्दोलनको एउटा उद्येश्य थियो – हिमाल, पहाड र तराईमा सराबरी विकास होओस् । तीन वटै भूगोलमा बस्ने नेपालीको जनजीवन सहज होओस् ।

दोस्रो जनआन्दोलनको यो १५ वर्षमा तराईमा विकासका पूर्वाधार पुगेका छन् । पहाडमा पनि परिवर्तनको आभाष भएको छ । तर हिमाली भेगका जनताले भोग्नुपरेका समस्या हिजो जस्तो थियोे, आज पनि त्यस्तै छ ।

हामीले हिमाललाई गम्भीर रुपमा लिन सकेका छैनौँ । जलवायु परिवर्तनको असर हिमालमा देखिन थालिसकेको छ । हिमालमा हिउँ देखिन छाडेको छ । हिमतालहरु कुनै पनि बेला फुट्न सक्ने जोखिममा छन् । त्यसको प्रत्यक्ष असर हिमाली भेगका बासिन्दालाई परेको छ । जति जति पृथ्वी तात्तिदै गएको छ त्यति नै हिमाल पनि पग्लिदै जान्छ । हिमालको कतिपय भागमा मैले काम गरेको ठाउँमा पहिले हिउँ पर्दथ्यो अहिले हिउँ पर्न छाड्यो । किन यस्तो भइरहेको छ ?

‘हिउँ रहे, पानी रहन्छ, पानी रहे, जीवन’ भनेर मैले आफ्नो तर्फबाट भन्दै आइरहेको छु। हिमाल फोहर भयो भने त्यहाँबाट आउने पानी पनि फोहर हुन्छ अनि हामीले सफा पानी कहाँबाट पाउने स्वच्छ पानीको स्रोत नै फोहर भइदिएपछि हामीले सफा पानी कहाँबाट पाउँछौ हामीले बुझ्नुपर्छ हाम्रै कारणले प्रकृति असन्तुलित भएको छ ।

हिमाली क्षेत्रको विकासमा तिव्रता किन आउन सकेन यसका अनेक कारण छन् । यसको मुल कारण हो, यहाँ एकीकृत एकीकृत बस्तीको आवश्यकता छ । विकासका पूर्वाधारहरु पुर्‍याउन पनि यो आवश्यक छ। मानव बस्ती पातलिएका कारण पनि चेतना र विकास दुबै दृष्टिले हिमाली क्षेत्र पिछडिएको स्थिती हो । सरकारले पनि हिमालबाट आएको आम्दानीलाई यहाँको विकासमा खर्च गर्नुपर्छ।

सगरमाथा आरोहणका लागि एउटा विदेशीले ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । के त्यसको केही अंश हामीले हिमाली भेगले भोग्नुपरेका समस्या समाधानका लागि लगाएका छौँ जवाफ सकारात्मक आउँदैन ।

सुदुरपूर्वमा कन्चनजंगा देखि सुदुरपश्चिममा अपी हिमालसम्मको हाम्रो श्रृंखला छ । त्यो प्रत्येक हिमाल आरोहणका लागि विदेशी आरोहीले ठूलो रकमको रोयल्टी तिर्नुपर्छ । त्यो पैसाको सदुपयोग कहाँ हुन्छ यो हाम्रो मनमा वर्षौदेखि उठिरहेको प्रश्न हो । के सरकार यसमा पारदर्शी हुनुपर्दैन जुन हिमाली भेगबाट रोयल्टी लिएको हो, त्यसको केही अंश त त्यहाँको विकासमा खर्च हुनुपर्दैन ? व्यवहारमा त्यो देखिँदैन । हिमाली जनजीवन सुधार र यसका लागि आवश्यक अनुसन्धानमा कतिपनि खर्च हुन सकेको छैन ।

हिमालमा जनचेतनाको अभाव छ । सबैभन्दा पहिले जनचेतना नै जगाउनुपर्‍यो। यहाँका कतिपय ठाउँमा नयाँ मान्छे देख्दा लुकेर हिँड्ने स्थिती छ । कतिपय ठाउँमा हाम्रो राज्यको उपस्थिती नै देखिँदैन । विदेशी पर्यटकको चहलपहल हुने क्षेत्रमा उनीहरुकै पहल र पैसाले केही विकास भएको देखिन्छ । अन्य पिछडिएका क्षेत्रको स्थिती दयनीय छ।

हाम्रा राजनीतिक दलका नेता–कार्यकर्ता जनचेतना जगाउने कार्यमा सक्रिय हुनुपर्ने हो । तर मान्छेको टाउको गनेर भोट तान्नेबाहेक उनीहरु अन्य कुरामा गम्भिर हुन नसक्नु चिन्ताको कुरा हो । विशेषगरी सुदुरपश्चिमका हिमाली भेगमा शिक्षा, स्वास्थ्य, चेतना र यातायातको दृष्टिले जनजीवन झनै कठिन छ । विदेशी पर्यटक नपुगेका हिमाली क्षेत्रको जनजीवन निकै कष्टकर छ । शिक्षा, चेतना र सूचनामा पहुँच पाउन हिमाली बासिन्दा चुकीरहेका छन् । राज्यले उचित सम्बोधन गर्न नसक्दा यो समस्या आएको हो ।

हिमाली भेगलाई दुर्गम, अविकसित र चेतना नभएको भूगोल हो भन्ने न्यारेटिभ नै सबैभन्दा पहिले परिवर्तन गर्नुपर्छ । यसका लागि सरकारले हिमालमा लगानी गर्नुपर्छ ।अब हामी गम्भीर बन्नैपर्छ । नत्र धेरै ढिलो हुन्छ। अब अबेर नगरी यसो हुन सक्यो भने त हिमाल हाँस्न कति बेर लाग्छ र ?

(शेर्पा नेपाल माउन्टेन एकेडमीका बोर्ड अफ डाइरेक्टर तथा हिमाली भेगका सामाजिक अभियन्ता हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?