आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकांक र पुँजीकरण भने सकारात्मक

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको उल्लेख छ । गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँ थियो ।

त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको नौ अर्ब ८३ करोडबाट घटेर सात अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । कारोबार भएका धितोपत्रको संख्या २७ दशमलव २ प्रतिशत र कारोबार संख्यामा २९ दशमलव ८ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको तुलनामा नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२० दशमलव ४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६ दशमलव ४९ विन्दुको तुलनामा बढी हो ।

त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधीको तुलनामा चार दशमलव ४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?