सरकारको नेतृत्व गर्ने कि नगर्ने ? दोधारमा कांग्रेस !

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने अवसर आउँदा समेत हतारिएका छैनन् ।

गत फागुन २३ गते सर्वाेच्च अदालतले गरेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा   पु-याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बहिर्गमन गराउने पक्षमा ओलीका बिपक्षीहरु लागी परेका छन् । तर आफू प्रधानमन्त्री बन्ने वातावरण बन्दा पनि कांग्रेस सभापति देउवा भने नहतारिएको देख्दा अनेक अनुमान गरिँदैछ ।

देउवालाई प्रधानमन्त्रीका लागि अघि बढेको खण्डमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले उनलाई सहयोग गर्ने निश्चित नै छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई साथ दिनेमा केही सकारात्मक देखिएपनि अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराइको साथ नरहँदा ठाकुर र महतोलाई ओलीको पक्षमा लाग्न त्यति सहज छैन। प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदमबिरुद्ध जसपाका नेताहरु एक भएर बिरोध गरेका थिए ।

जसपाका नेता तथा कार्यकर्ताले पनि ओली भन्दा कांग्रेससँग नै सत्ताका लागि सहकार्य गर्नुपर्ने जोड दिएको छ। देउवा प्रधानमन्त्री बन्न तयार भएमा जसपाका केही नेता पार्टीबाट विद्रोह गरेर ओलीसँग गठबन्धन गर्न जाने सम्भावना निकै कम रहेको जसपाकै नेताहरु बताउँछन् ।

देउवालाई अहीले आफ्नै पार्टीबाट समेत ओलीलाई बिस्थापित गरेर प्रधानमन्त्रीको नेतृत्व गर्न सबैले दवाब दिइरहेका छन् । उता यस अघि नेकपामा रहँदा निकै कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पनि आफ्नो सत्ता टिकाउनका लागि सोमबार नेता माधव नेपाल सहितका नेतासाग छलफल गरेका छन् । तर नेपाल पक्ष ओलीसँग चाँडै खुशी भइहाल्ने अवस्थामा छैनन् । यता माओवादी केन्द्र त ओलीसँग असन्तुष्ट मात्रै होईन राम्रैसँग चिढिएको छ ।

माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै ओलीलाई सत्ता जोगाउन कठिनाइ पर्ने देखिन्छ ।

सत्ताको खेलमा जे पनि संभावना रहने भएकाले देउवा ‘पर्ख र हेर’ को मूडमा छन् । उनी ढोकाको उपहार लत्याएर झ्यालबाट चिहाइरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे कांग्रेस सरकार गठनको फोहोरी खेलमा नलाग्ने बताउँछन् । सरकार गठनका लागि १ सय ३८ सांसद चाहिनेमा कांग्रेस, जसपा र माओवादी केन्द्र मिल्दा १ सय ४० मात्रै पुग्ने भएकाले भोली सांसद खरीद बिक्रि ‘हर्स ट्रेडिङ’ का कुरा आएमा त्यसको रिक्स मोल्ने पक्षमा कांग्रेस देखिएको छैन।

१ सय ४० मध्ये ३ जनामात्रै पनि अनुपस्थित भएमा कांग्रेस नेतृत्वको सरकार बन्ने अवस्था रहँदैन । त्यसकारण पनि कांग्रेस नेकपा माअ‍ेवादी केन्द्र र जसपाबाट स्पष्ट रुपमा विश्वासको वातावरण खोजिरहेको छ ।

ओलीसँग असन्तुष्ट नेता नेपाल र झलनाथ खनाल पक्षले संसदमा ओलीबिरुद्ध भोटिङको अवस्था आएमा क्रस भोटिङ होला भन्नेमा कांग्रेस विश्वस्त देखिएको पनि छैन ।

एमालेका नेपाल– खनाल नआएपनि जसपा,माओवादी केन्द्र र कांग्रेस मिलेर सरकार बन्ने स्थिति हुँदा हुँदै पनि विगतको जस्तै सांसदहरु यताउता लाग्छन् कि भन्ने कारण पनि देउवा प्रधानमन्त्री बन्न नहतारिएका हुन् कि भन्ने विश्लेषण गरिँदैछ ।

सत्ताका लागि देउवा नतातिएपछि जसपा र माओवादी केन्द्र देउवालाई अघि बढ्न दवाब दिइरहेका छन् । बरु सत्तामा जानुभन्दा नेकपा एमालेभित्र विवाद (ओली र नेपाल पक्ष) भइरहँदा मध्यावधि निर्वाचनमा गएमा कांग्रेसले बहुमत ल्याउने देउवाको आँकलन छ ।

कतिपय आन्तरिक र बाह्य चासोका कारण पनि कांग्रेस ,जसपा र माओवादी केन्द्रको सरकार सहजै बन्ला भन्ने छैन । त्यसकारण पनि देउवा आफ्नो नेतृत्वमा सहजै सरकार बन्ने भएमा मात्रै प्रधानमन्त्री बन्ने नत्र कसैसँग नभिड्ने पक्षमा छन् ।

सबै दलहरुबीच सहमति बेगर मध्यावधि निर्वाचनमा जान पनि त्यति सहज भने छैन। तर पनि देउवा सजिलै हुन पाए मात्रै प्रधानमन्त्री बन्ने र नभए निर्वाचनतिरै जाने पक्षमा छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?