सावित्रा भण्डारीले बाँकी खेल गुमाउने

RSS
0
Shares
फाइल तस्वीर

काठमाडौँ– खेलका क्रममा घाइते भएकी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् ।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु-याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमवार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन् ।

उनको खुट्टामा चोट लागेको छ । एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिइन् । उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन् । महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो ।

एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ । एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ । अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ । त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा छ । एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ ।

सोमवारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?