अपडेट : विभत्स अवस्थामा जंगलमा भेटिएकी भागरथी भट्टको शंकाष्पद मृत्युबारे कहाँ पुग्यो अनुसन्धान ?

लोकपथ
0
Shares

काठमाडौं बैतडीको दोगडाकेदार गाउँपालिका – ७ लवलेक सामुदायिक वनमा विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको शंकास्पद मृत्यु अनुसन्धान गरिरहेको प्रहरीले केहि ‘क्लू’ हरु फेला पारेको जनाएको छ । तर अनुसन्धान प्रभावित हुनसक्ने कारणले प्राप्त प्रमाणहरु पुष्टि भएपछि मात्रै सबै जानकारी दिनेसकिने एक प्रहरी अधिकारीले बताएका छन् ।

मृतक किशोरीको शव पोष्टमार्टमका लागि हिजो शुक्रवार नै जिल्ला अस्पताल बैतडी लगिएको प्रहरीले जनाएको छ ।

बुधवारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा बिहीबार साँझ शङ्कास्पद रूपमा वनमा विभत्स अवस्थामा शव भेटिएको थियो ।

१७ वर्षिया किशोरी भट्टको टाउकोमा चोट लागेको, लुगा च्यातिएको, योनीबाट रगत बगेको, शरीरमा चोटपटक देखिएको अवस्थामा शंकास्पद रुपमा जंगलको बीचमा शव फेला परेको थियो । मृतक भट्टको शव छेउमा उनले प्रयोग गरेको मोबाइल फोन पनि भेटिएको थियो ।

गत बुधबार घरबाट विद्यालय गएकी भट्ट घर नफर्केपछि परिवार र गाउँलेले उनको खोजी गरेका थिए ।

घटनाबारे प्रहरीसम्म जानकारी आयो । खोजी गर्दा उनको शव जंगलमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक जनक बहादुर धामीले लोकपथलाई दिएको जानकारी अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको हुनसक्ने देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । अनुसन्धान भइरहेको कारण भेटिएका क्लू र हाम्रो अनुसन्धानको डिटेल्स दिन मिल्दैन ।अनुसन्धान प्रभावित हुनसक्छ। त्यसैले अन्य प्रमाणले पुष्टि गरेपछि थप जानकारी दिनेछौँ । उनले थपे, “मृतकको शरीरभरि निलडाम, टाउकोमा चोट , कपडा च्यातिएको, योनीबाट रगत बगिरहेको अवस्थामा शव जंगलमा भेटिएको थियो । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत लगिएको थियो ।”

किशोरी भट्ट बुधबार विद्यालयमा उपस्थित रहेको कारण सोही दिन यो घटना भएको हुनसक्ने उनी अध्ययनरत सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बम बताउँछन्।

“जङ्गलको बीचमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा शव भेटिएको छ, थप कुरा अन्य अनुसन्धानका रिपोर्टपछि थाहा हुन्छ” घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनका बुबाको दुई महिना पहिले निधन भएको थियो । उनको मृत्युले आमा विक्षिप्त छिन् भने गाउँ नै शोकमा डुबेको छ ।विभत्स अवस्थामा फेला परेको शव देखेका मृतकका आफन्तले बलात्कारपछि हत्या गरिएको हुनसक्ने बताएका छन् ।

प्रहरीले दिएको पछिल्लो अपडेट यस्तो छ :
भट्टको शंकाष्पद मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न र चाँडो भन्दा चाँडो दोषी पत्ता लगाइ कानूनी कारवाहीका लागि छुट्टै टोली खटाइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको छ ।

सो टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ ।

मृतक किशोरीको फोन डिजिटल फरेन्सिक ल्याबमा लगिएकोमा त्यसमा रहेका ‘डिटेल्स’ ल्याइसकिएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भट्टको हत्याको खवरले निकै मर्माहित भएको र सो घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

किशोरी घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई यथाशीघ्र कानूनी कारवाहीको दायरामा ल्याउन विद्यार्थी संगठनहरूले पनि माग गरेका छन्।

किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?