प्रचण्ड–दाहाल समूहलाई केपी ओलीको आह्वान, ‘सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुस्’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह चाहिने भए पुनः पार्टीमा फर्कन प्रचण्ड–दाहाल नेकपाको समूहलाई आह्वान गरेका छन् ।

आज काठमाडौंमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्नबाट मेरै हो भनेर दाबी गर्ने अधिकार नभएको समेत बताए ।

‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने,’ ओलीले भने, ‘तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस् ।’
साथै उनले आफूले जनता हँसाउन खोज्दा पनि प्रचण्ड–नेपाल समूहलाई पीर परेको टिप्पणी गरेका छन् ।

‘मारेर पनि रुवाएको छ । कुटेर पनि रुवाएको छ । अनि मैले हँसाए भनेर पीर परेको छ । जोक्करै रहेछ । हसारै खत्तम पार्‍यो भन्छन् । नेपाली जनता हाँसेकोमा किन पीर परेको होला अचम्म लाग्छ’, ओलीले भने ।

उनले अब नेपाली जनता रुवाउन नदिने पनि दाबी गरे । उनले किशोरकिशोरी, युवायुवती, बाआमाको अनुहारमा मुस्कान ल्यान चाहेको र त्यसका लागि आफूले थुप्रै काम गरेको पनि दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?