पौडेल पक्राउ प्रकरण : तनहुँका सिडियोको बयान यस्तो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा पक्राउ परेका छन् ।

जिल्लाको ब्यास नगरपालिकामा निर्माण गरिएको मोटरेवल पुल उद्घाटनको क्रममा विवाद भएको थियो ।

पुल उद्घाटनमा पुगेका पौडेललाई नेकपा तनहुँ र नेकपा निकट राष्ट्यि युवा संघले विरोध जनाएको थियो । साथै थप जोखिम नहोस भन्दै प्रशासनले बुधवार(आज) बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा खोल्न माग राख्दै पौडेल समूह पुल उद्घाटन गर्न ठुलो समूहसहित त्यसतर्फ गएका थिए । पौडेलले जारी निषेधाज्ञा तोडेका कारण नियन्त्रणमा लिइएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडियो) सागर आचार्यले लोकपथलाई बताए । “पुल उद्घाटनको विषयलाई लिएर विवाद बढेको थियो । सडकमा नारा जुलुस र हानाहान साथै अप्रिय घटना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएकोमा पौडेल लगायत ठुलो समूहले नाराजुलुस गरेकाले उहाँलाई नियन्त्रणमा लिएका हौँ ।” उनले भने ।

साथै पुल उद्घाटनमा पौडेल जाने भएपछि चुलिएको विवादका कारण उनीमाथि हुनसक्ने हमलाको कारण प्रहरीले सुरक्षा दिनको लागि नियन्त्रणमा लिएको समेत सिडियो आचार्यले बताए ।

उनले भने- “पुल उद्घाटन विवादका कारण केहीदिन देखि यहाँ विवाद बढिरहेको छ । विभिन्न समूह समूहमा भएको प्रदर्शनका कारण उहाँमाथि आक्रमण हुनसक्ने खतरा बढेकाले पनि हामीले उहाँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

नेता पौडेलसहित प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको सिडियो आचार्यले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?