कर्णाली प्रदेशमा मन्त्रीहरु फेरिँदै, हतारिएर राजिनामा नदिन ओलीको निर्देशन !

काठमापडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्धको अविश्वास प्रस्तावले प्रदेशका मन्त्रीहरु फेरबदल हुने भएको छ ।

मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षका मन्त्रीहरु फेरिन लागेका छन् ।

मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्तावले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीको सम्बन्धमा चिसोपन आयो भने वरिष्ठ नेता माधव कुमार नेपाल र प्रचण्ड भने केही नजिकिए ।

पार्टी विवाद मिलाउन मुख्यमन्त्री शाहीसहित केही नेताहरुलाई काठमाडौं बोलाएर विवाद केही मत्थर भएपनि हाल मुख्यमन्त्री शाहीले दुई मन्त्रीहरु फेर्ने पक्षमा देखिएका छन् ।

प्राप्त जानकारी अनुसार उनले ओली पक्षका दुई मन्त्री सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव कुमार नेपाल समूहका छन् । नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम अगाडी रहेको छ । तर कसलाई कुन जिम्मेवारी दिईनेछ भन्नेबारे एकिन छैन ।

बैंकिङ कसुरमा परेका कारण खड्कबहादुर खत्रीलाई हटाईएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ ।

शनिवारको भेटघाटमा मुख्यमन्त्री शाहीले राजिनामा दिनुपर्ने संकेत गरेपनि आफू तत्कालै राजिनामा नदिने पक्षमा रहेको मन्त्री रावलले बताएका छन् । उनले मुख्यमन्त्री शाहीसँगको भेटघाटपछि सामाजिक सञ्जालमा आफू हटन लागेको संकेत गरेका थिए । तर अहिले भने उनले सामाजिक सञ्जालबाट आफ्ना भनाइहरु हटाइसकेका छन् ।

स्रोतका अनुसार हट्न लागेका भनिएका दुवै मन्त्रीहरु रावल र बुढाले आफूहरु राजिनामा नदिने बरु हटाए हट्ने पक्षमा रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीले तत्काल हतारिएर राजिनामा नदिन निर्देशन दिएका कारण ओली पक्षका मन्त्रीहरु राजिनामा दिने पक्षमा नरहेको स्रोतका दावी रहेको छ ।

अविश्वास प्रस्वाव दर्ता गरेसँगै मुख्यमन्त्री शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने पक्षमा देखिएका थिए । तर ओली र प्रचण्डले मन्त्रीमण्डल हेरफेरको काम तत्कालका लागि रोकेका थिए ।

ओली र प्रचण्डबीच मुख्यमन्त्री प्रकरणमा एकमत हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढेको बुझिएको छ ।

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएको प्रकरणलगत्तै मुख्यमन्त्री शाहीले यसअघि नै प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाइसकेका छन् । भने सिता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिसकेका छन् ।

यो पनि 

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?