काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका छन् ।
इप्पानको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले वन मन्त्रालयमा ४० भन्दा बढी फाइल रोकिएको विषयमा आफूहरूले पटक–पटक पत्राचार गर्दै आएको उल्लेख गरे ।
उनले अहिले चर्चामा रहेको ‘सनसेट ल’ छिट्टै आउने संकेत देखिएको र उक्त कानुन लागू भए जलविद्युत आयोजनासम्बन्धी धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार ‘सनसेट ल’ मार्फत ‘वान डोर पोलिसी’ लागू गरिनुपर्ने आवश्यकता छ । यसले जलविद्युत आयोजनाको अनुमति प्रक्रिया तथा प्रशासनिक कामलाई सहज बनाउने उनको भनाइ छ ।
अध्यक्ष कार्कीले अब आन्दोलनभन्दा काम गर्ने समय आएको भन्दै सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे । निजी क्षेत्रले सरकारसँग धेरै अपेक्षा गरेको उल्लेख गर्दै उनले सरकारले घोषणा गरेका विषय कार्यान्वयन भए काम गर्ने वातावरण अझ सहज बन्ने बताए ।
उनले जलविद्युत क्षेत्र बुझ्ने व्यक्तिहरू अहिले संसद्मा पुगेकाले क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । साथै, इप्पानभित्र सबै पक्षलाई समेटेर एकीकृत टिम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया