काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट भएको छ । केहीबेर अघि अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र अध्यक्षद्वयबीच छलफल चलिरहेको स्रोतले जनाएको छ ।
अध्यक्षद्वयबीच झण्डै २ हप्तायता भेटघाट तथा छलफल हुन सकेको थिए । गत कार्तिक ४ गतेपछि ओली प्रचण्डबीच शनिवार (आज) दिउँसो मात्रै भेटघाट भएको हो ।
मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेश विवाद, रअका प्रमुखसँग ओलीको भेट लगायत विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएको छ । आन्तरिक विवाद चुलिएका कारण अध्यक्षद्वयबीच भेटघाट हुन नसकेपनि प्रचण्डको सचिवालयले भने प्रचण्ड कोभिडको कन्ट्रयाक ट्रेसिङमा परेका कारण भेटघाट हुन नसकेको बताएको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएका विवाद समाधानको प्रयासस्वरुप अध्यक्षद्वयबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि अविश्वास प्रस्ताव दर्ता भएसँगै केही मत्थर भएको नेकपा विवाद एकाएक चुलिएको थियो । ओलीले आफू निकट नेताहरुलाई प्रचण्ड निवास खुमालटारमा पठाएर बालुवाटार बोलाउन आह्वान गरेपनि प्रचण्डले आलटाल गर्दै आएका थिए ।
ओलीलाई भेट्न बालुवाटार जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया