दशैँलाई कहिले आईपुग्छ चिनी ?

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ ।

चालू आर्थिक वर्ष २०७७र७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो ।

कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले खरिद गर्ने चिनीको गुणस्तर ठीक भएको प्रमाणपत्र आइतबार साँझ आइसकेकाले अब केही अवरोध नभए सात÷आठ दिनभित्रै चिनी नेपाल आइपुग्ने जानकारी दिए ।

गुणस्तरको प्रतिवेदन आउन ढिला हुँदा चिनी आउने समय पछि सरेको हो । अरू बेला अवस्थामा गुणस्तर परीक्षणका लागि नमुना पेस गरेको चार/पाँच दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणपत्र आउने गरेकामा यसपटक १० दिन लागेको उनले बताए । उनले भने, “चिनी खरिदका लागि गर्नुपर्ने अन्तिम प्रक्रिया बैङ्किङ प्रक्रिया ९एलसी खोल्ने० आजरभोलि नै सुरु गर्छौं, अब ढिला हुनुपर्ने कारण छैन । ”

विदेशबाट खाद्यवस्तु खरिद गर्दा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगशालामा नमुना परीक्षण गर्दा गुणस्तर ठीक भएको प्रमाणपत्र अनिवार्य रूपमा भन्सारमा बुझाउनुपर्ने नियम हुन्छ । सोहीबमोजिम नेपालमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालाले मात्रै यस प्रकारको प्रमाणपत्र दिनसक्छ ।

सो विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले विदेशबाट खाद्यवस्तु आयात गर्नुपरेमा आवश्यक कागजातसहित प्रमाणपत्रका लागि गुणस्तर परीक्षणको नमुना पेस गरेको बढीमा चार दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने गरेको जानकारी दिए ।

उहाँले प्रमाणपत्रका लागि पेस गर्नुपर्ने आवश्यक कागजात भएको खण्डमा चार दिनभन्दा बढी नलाग्ने दाबी गर्नुभयो । यदि १० दिन लागेको हो भने कागजात अपुग भएर हुनसक्ने उनको भनाइ छ ।

कर्पोरेसनका अनुसार हाल कर्पोरेसनसँग एक÷डेढ सय मेट्रिक टनको हाराहारीमा चिनी मौज्दात छ । हाल आफ्ना बिक्री केन्द्र र डिपोमार्फतबाहेक अन्य ठाउँमा कर्पोरेसनको चिनी बिक्री भएको छैन ।

खुला बजारमा प्रतिकेजी ९०र९५ रुपियाँमा कारोबार भएको चिनी कर्पोरेसनले भने ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । कर्पोरेसनको चिनी मौज्दात सकिँदै जानु र नयाँ खरिद ढिला हुँदा चिनीको भाउ बढेको विश्लेषण भइरहेका बेला कर्पोरसनको चिनी छिटो आउने सङ्केतले बजार भाउ घटने आश व्यापारीले गरेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले कर्पोरेसनको चिनी बजारमा आउनासाथ बजारमा अहिले बिक्रीको भएको मूल्यमा थोरै भए पनि घट्ने दाबी गरे । कर्पोरेसनले गएको फागुन महिनामै ५० हजार मेट्रिक टन चिनी खरिदका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमार्फत सरकारसँग अनुमति मागेको थियो । सरकारको गएको साउन १३ गतेको निर्णय अनुसार कर्पोरेसनलाई २० हजार मेट्रिक टन मात्रै चिनी खरिद गर्न स्वीकृत दिएको छ ।

सरकारले यसपटक कर्पोरेसनलाई २० हजार र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन गरी ३० हजार मेट्रिक टन खरिदका लागि स्वीकृति दिएको छ तर खाद्यको चिनी भने दशैँअघि नआउने पक्का भएको छ ।

देशमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा गत वर्ष एक लाख ७० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । यो हेर्दा पनि नेपाललाई वार्षिक ८० हजार मेट्रिक टन चिनी अपुग हुने गरेको देखिन्छ । खुला सीमाका कारणले ठूलो परिमाणमा तस्करीबाट नेपालमा चिनी भित्रिने गरेको छ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?