‘लकडाउन’ परिमार्जन गरिँदै, असार १ गतेपछि लकडाउन खोल्ने ‘खाका’ यस्तो हुने

काठमाडौं- मिडियाले गत  जेठ १० गतेदेखि नै ‘सरकारले लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्दैछ’ भनेर लेखेका थिए । लामो लकडाउनमा निसास्सिएका आम मानिसले सामाजिक सञ्जालमा यो मोडालिटी कस्तो होला भनेर चासो र कौतुहलता व्यक्त गरे । ति सूचना गलत थिएनन् तर संक्रमितको संख्या तिव्र रुपमा बढेसँगै सरकार पूर्व ‘प्लान’बाट पछि हट्यो । र, फेरी लकडाउनको समयावधि लम्ब्याएर आगामी जेठ ३२ सम्मको मिति सुनाउँदै भन्यो – ‘लकडाउन कायमै रहनेछ ।’

यो बिचमा प्रहरी अधिकारीले समेत लकडाउन खुकुलो भन्ने हल्लामा परेर बाहिर नआउन भने ।

यहि बिचमा कर तिर्नुपर्ने अन्तिम मिती सहित आएका समाचारले नागरिक हैरान भए । अन्तत्वगोत्व सरकार आफ्नो निर्णयबाट ‘ब्याक’ भयो । र मिती केही दिनका लागि सार्यो ।

सरकारले कर तिर्न ताकेता गरेको सूचनाबाट रिसाएका केहि व्यापारीहरु लकडाउन उल्लंघन गर्दै सरकारले दोहोरो चरीत्र प्रर्दशन गरेको र जनतालाई आहतमा पारेर ‘कर’  मागेको भन्दै सडकमा आए । स्वभाविक हो, बितेका ७० दिन जनता सरकारको निर्णय मानेर बसे । औषधी किन्न गएकाहरुले ढाडमा ‘सुम्ला उठ्ने गरी’ पिटाई खाए ।

हुन पनि गत वर्ष चैत ११ गतेदेखि लागू गरी थप्दै आएको लकडाउनमा विभिन्न चरणमा ‘देशबासीको नाममा’ प्रधानमन्त्रीको सम्बोधन र कोरोनाबाट बच्ने उपायसहितका ‘टिप्स’ भनिदिने बाहेक कुनै त्यस्तो काम भएन । आशा बोकेर प्रधानमन्त्रीलाई सुनेका जनता निराश भइरहे । सुनिरहे । यसअघि राहतमा सरकारको कमजोरी र अध्यादेशमा ल्याएर नागरिकलाई ‘गिज्याएर चुकेको यथार्थ पछि कुरा गरौँला ।

कोरोनाको महामारीबाट लड्न सरकारले जे भन्यो – जनताले माने । तर यो मौकाको सदुपयोग गरेर सरकारले कति परीक्षण गर्यो, सीमाको विषयमा के सोच्यो , क्वारेन्टाईन कोरोनाको हटस्पट भईरहेका छन् यसमा के गर्यो ? कति लागत राख्यो, कुनै अनुसन्धान गर्यो ? कुनै योजना बनायो ? अँह । बरु झण्डै राजनीतिक गुम्राहमा फसेन । जनता त्यसले खुसी नभएका हुन् ।

पछिल्लो पटक थपिएको लकडाउनको समयावधि जेठ ३२ सम्म लागू हुनेछ । तर स्वास्थ्य सामाग्री खरिद प्रकरण, परीक्षणको दायरा नबढाईनु, सीमाबाट नागरिक लुकिछिपी आउनु तिनमा संक्रमण देखिनु, संक्रमितको ‘कन्ट्याक ट्रेसिङमा’ ढिलाई हुनु र संक्रमण बढी फैलन जानु, आरडिटी परीक्षण विधीमा नेगेटिभ देखिएकाको मृत्युपश्चात् गरीएको रिपोर्टमा पोजेटिभ आउनु, कोरोना महामारीका बेला राष्ट्रपति कार्यालयको लागि महँगो कार्पेट फेर्ने समाचार, मन्त्रीलाई महंगो गाडी किनिँदै गरेका समाचार, हाम्रो भान्छामा पाईने औषधीको प्रयोगबाट यसको उपचार सम्भव भएका केहि केसहरुका कारण कतिपय व्यापारी स्वस्फूर्त रुपमा सरकारले लागू गरेको घरबाहिर ‘अति काम नपरी ननिस्कनू’ भन्ने उर्दीलाई ‘सरी’ भन्दै सटर खोल्न थालिसकेका छन् ।

यसैबीच हिजो  (बिहिबार) प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रीपरिषद् बैठक डाकेर बैठकमा आगामी असार १ गतेपछि लकडाउन कस्तो बनाउने भन्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाईयो । प्रधानमन्त्रीलाई मन्त्रीहरुले नागरिकको अप्ठेरो, आक्रोश र गुनासोको विषयमा पनि जानकारी गराएका थिए । त्यसपछि उनले बुधबार विभिन्न क्षेत्रका विज्ञ र चिकित्सकसँग राखेको प्रश्न जिज्ञासा र सुझावका आधारमा मिहिन ढंगले योजना बनाएर ल्याउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितीलाई निर्देशन दिने निर्णय भयो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) ले मन्त्रिपरिषद् बैठकले जिम्मा दिएको लकडाउन खुकुलो पार्ने विषयमा ‘मोडालिटी’ तयार पारेको छ। यसपटकको मोडालिटीमा जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको वर्तमान स्वरुप परिमार्जन गर्न लागिएको हो ।

उच्चस्तरीय समितीले उक्त मोडालिटी २ दिनभित्र पेश गर्नेछ । उक्त मोडालिटीमा आवश्यक परे केही संशोधन गरेर लागू गरीने बुझिएको छ ।

लोकपथलाई प्राप्त जानकारी अनुसार उच्चस्तरीय समितीले असार १ गतेदेखी ७० दिन अर्थात् भदौ ८ गतेसम्म विभिन्न ६ चरणमा गरी लकडाउन खुकुलो बनाउने तयारी गरी ‘मोडालिटी’ बनाएको छ ।

देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन खुकुलो पार्न सम्भव नभएको बताउनु र बाहिर ‘चर्को जनदबाब परेको’ मन्त्रीहरुको रिपोर्ट सुनेका प्रधानमन्त्रीले उच्चस्तरीय समितीले लकडाउनको मोडालिटीसहितको कार्ययोजना दिनुपर्ने निर्देशन दिएका थिए ।

उक्त मोडालिटीमा असार १ पछिको २ हप्तालाई पहिलो चरण मानिएको छ । जसमा अहिलेजस्तै अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक नै लगाइनेछ ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीलेको मोडालिटी अनुसार असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान सुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा आज शुक्रबार म्यानमारबाट र दुवईबाट पनि ल्याउन प्रक्रिया सुरु भएको छ । सावधानी अपनाएर लकडाउनलाई लुजडाउन गर्दै लैजाने प्रक्रिया आगामी असार १ गतेबाट सुरु हुनेछ ।

पहिलो चरणमा कृषि क्षेत्र खुकुलो बनाउने भनिएका क्षेत्र यस्ता छन् ।

पहिलो चरणमा दूध, अन्नबाली, तरकारी फलफूलको बिक्री वितरण, बस्तुभाउ, सम्पूर्ण कृषिजन्य उत्पादन आंशिक रूपमा खुला गरिने, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउन दिइने ।

दोस्रो चरणमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्न सकिने मोडालिटी सीएमसीले तयार पारेको छ । उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिइने बताईएको छ । धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गरिनेछ ।

तेस्रो चरणमा कृषि क्षेत्र, दैनिक उपभोग्य सामग्री बिक्री–वितरण केन्द्र, निजी सवारी साधन सञ्चालन गर्न सुरु गर्न सकिने सीएमसीको प्रस्ताव छ ।
सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा सञ्चालन, तेस्रो तहको कार्ययोजनामा बाह्यतर्फको हवाइ उडान र सार्वजनिक यातायात सेवा पनि सुरु गर्न सकिने सीएमसीले प्रस्ताव गरेको छ ।

चौथो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्न सकिने, बैंक तथा वित्तीय संस्था, खेलकुदसँग सम्बन्धित संस्था, अस्पतालसँग सम्बन्धी सेवा, सूचना तथा सञ्चारसँग सम्बन्धित सेवाप्रदायक संस्था, कार्यालयहरू, फेन्सी पसल, व्युटिपार्लर, कपाल काट्ने केन्द्र सैलुन आदि खोल्न दिइनेछ ।

पाँचौ चरणमा चौथो तहको मोडालिटी सफल भइसकेपछि विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू खोल्ने पाइने सीएमसीको प्रस्ताव छ । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम पनि खुल्ला गर्न सकिने प्रस्ताव छ ।

कोभिडको सङ्क्रमणको अवस्था हेरेर सुरुमा जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न प्रस्ताव गरेको छ ।

सीएमसीले २ वटा विकल्प उपलब्ध भएको भन्दै प्रस्ताव गरेको छ ।

पहिलो विकल्प :
आशिंक लकडाउन स्वरुप– संक्रमण र जोखिमको आधारमा निश्चित स्थान र समयका लागि आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने र क्रमिक रुपमा खुकुलो गर्दै जाने ।

दोस्रो विकल्प : 
लकडाउन रहितको स्वरुप जसमा सुरक्षा सावधानी अपनाएर लकडाउन हटाउने ।

नेपाली भान्छामा भएका बहुगुणी, सजिलै र सस्तो रुपमा प्रयोग गर्न सकिने विभिन्न मरमसलाहरुलाई उचित रुपमा प्रयोग गर्दा पनि यस्ता किसिमका भाइरसहरुलाई परास्त गर्न सकिने आयुर्वेदिक चिकित्साले भनिरहेको छ । नेपालमा लकडाउन लम्ब्यिाईरहँदा गरिबी, आत्महत्या,भोकमरी, बेरोजगारी लगायतका समस्या बढीरहेका छन् । सबै सरोकारवालाले लकडाउन खुकुलो बनाउँदै सामान्य जनजीवनमा फर्कन अनुरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?