तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

लोकपथ
0
Shares

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।

विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् ।

त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्वमुल नाइके जोशीले बताए ।

एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा विसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए । फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो ।

राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याएको जोशीले जानकारी दिए । भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदैआएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?