मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा मृतक संख्या दुई पुगेको छ ।

आज मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको हो।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

त्यस्तै हिजो (शनिवार) नेपालमा कोरोना भाइरसको महामारीबाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

हालसम्म नेपालमा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ जनाको मृत्यु भईसकेको छ भने ३६ जना स्वास्थ्योपचार पछ निको भएर घर फर्किएका छन् ।

नेपालका कूल संक्रमित मध्ये २३६ जना पुरुष र ५५ जना महिला संक्रमित रहेका छन् ।

आज (आईतवार) मात्रै नेपालमा १० जना कोरोना संक्रमित थपिएका छन् भने हिजो (शनिवार) पहिलोपटक नेपालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?