अन्ततः मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

काठमाडौं – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अन्ततः पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको विवादास्पद अडियो बाहिरिएपछि उनको चौतर्फि विरोध भएको थियो ।

एक कार्यक्रमका लागि कञ्चनपुर पुगेका उनले सार्वजनिक रुपमा आज बिहान भनेका थिए, “ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”
जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको अभिव्यक्ति सार्वजनिक भएपछि पद र पावरका कारण मैमत्ता भएको भन्दै जनताले टिकाटिप्पणी गरेका छन्। “आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भनेका थिए, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

अश्लील शब्दसमेत बोलेको अडियो सार्वजनिक  भएपछि स्वयम् उनैको पार्टीबाट पनि थेग्न नसक्नेगरी दबाब आएपछि प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर उनले राजीनामा दिएका हुन् । प्रतिनीधिसभाको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी प्राप्त भइसकेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?