वैदेशिक रोजगारीबाट फर्किँदै हुनुहुन्छ ? जान्नैपर्छ यी ५ कुरा

काठमाडौं । धन कमाउन विदेश जानुभएको छ ? अनि केहि दाम कमाएर जे गर्नुपर्छ नेपालमा गर्ने भन्ने ध्येयले स्वदेश फर्कने तरखरमा हुनुहुन्छ ? त्यसो हो, भने लोकपथ डटकमले तपाईको लागि उपयोगी हुनसक्ने केहि टिप्स प्रस्तुत गरेको छ ।

वैैदेशिक रोजगारी

सामान्य भाषामा रोजीरोटीको लागि आफ्नो मुलुकभन्दा बाहिर गएर श्रमदान गरी त्यसबापत पारिश्रमीक लिनु वैैदेशिक रोजगारी हो । विश्व श्रम बजारलाई हेर्ने हो भने विश्वमा एक मुलुकका नागरिक टाढा टाढाका मुलुकमा समेत श्रमको लागि गएको पाईन्छ । अझ नेपाल जस्तो विकाशसिल मुलुकका नागरिकहरुका लागि भने आयआर्जनको मुख्य आधार नै वैैदेशिक रोजगारी हो । वैदेशिक रोजगार विभागका अनुसार हाल करिब ४० लाख भन्दा बढि नेपालीहरु श्रमका लागि विश्वका बिभिन्न मुलुकमा रहेका छन् । ती मध्ये धेरै साउदी कतार, मलेसिया, दुबई, बहराईन लगायका देशहरुमा भने नेपालीको संख्या बाहुल्यता रहेको विभागले जनाएको छ ।

गत मंसिर महिनाको मात्र तथ्यांकलाइ हेर्ने हो भने कुल ५६ हजार ८ सय १० जनाले विश्वका विभिन्न मुलुकमा जानका लागि विभागबाट श्रम स्विकृती लिएका छन् । त्यस्तै वार्षिक रुपमा करिब १२ लाख मानिस नेपालबाट बाहिरिने गरेको बैदेशिक रोजगार बिभागका सूचना अधिकारी भोलानाथ अधिकारीले बताए ।

नेपाललाई सम्भावना नै सम्भावना भनेर विश्व समुदायले हेरिरहेको यो अवस्थामा युवा तन्नेरीहरु बाहिरिनुले बिडम्बना थपेको छ । हरेक पटकको सरकारले यूवाहरुलाई बैदेशिक रोजगारबाट मुक्ति दिने भनेपनि केवल चुनावी नारामा मात्र सिमित हुने गरेका छन् । त्यतिमात्र नभएर कुल ग्रार्हस्थ उत्पादनमा करिब २५ देखी ३० प्रतिशत योगदान रेमिट्यान्सको रहने गरेको छ । त्यसले के देखाउँछ भने आय आर्जनको ठूलो हिस्सा ओगटेको वैैदेशिक रोजगारी अर्थात् त्यसबाट आउने रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा मूख्य भुमिका निर्वाह गरिरहेको छ ।

तर वैदेशिक रोजगारीमा जानै नहुने भन्ने चाहीँ कदापी होइन । विश्वका विभिन्न मुलुकबाट सिकेको नयाँ ज्ञान तथा सिपलाई नेपालमा नै प्रयोग गर्न सकिएमा त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । त्यस्ता धेरै उदाहरण छन् जसले वैदेशिक रोजगारबाट सिकेको ज्ञानले नेपालमा नै रोजगारदाता बनेका छन् । भने कतिपय नेपालमा केही गर्न सकिँदैन भनेर पुनः विदेश नै फर्किने गरेका छन् । राजनीतिक अस्थिरता, उचित बजारको अभाव, सौलियत एवं ऋणको अभाव तथा अन्य विविध कारण नेपालमा केही गर्न चाहनेहरुका लागि असहज रुपमा हेर्ने गरिन्छ । तर सफलता चाहनेहरुका लागि ती सबै कुराहरुलाइ चिरेर दृढ संकल्प लिएर हिड्न सक्नुपर्दछ ।

वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा नै केही गर्न चाहनेहरुका लागि सूचनाको अभाव देखिएको छ । वैैदेशिक रोजगारीबाट यूवाहरुलाई नेपाल फर्काइ यहि केही गर्न प्रोत्साहित गर्नका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमहरु समेत अघि सारेको छ । तर नेपाल फर्किएका तथा फर्किन चाहने यूवाहरु केही कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ ।

वैैदेशिक रोजगारबाट फर्किएका युवाहरुले यी कुराहरु ध्यान दिने कि ?

सरकारी सहुलियत

पछिल्लो समय सरकारले युवा लक्षित बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायत सरकारले ल्याएका कार्यक्रमका कारण यूवाहरुमा केही हौसला भरिएको छ । पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत प्रयोजनका लागि कर्जा नदिनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । यससँगै व्यवसाय गर्न चाहने यूवाहरुका लागि भने कर्जा प्रवाह गर्न प्रोत्साहन समेत गरेको छ । बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले आफुसँग भएको पुँजी तथा सिकेर आएको सीपलाइ नेपालमा उपयोग गर्ने राम्रो वातावरण बनाउन सक्नेछन् ।

व्यवसायीक पार्टनर छनोट गर्दा विचार पुर्याउनुहोस्

हामी काम गर्न नजानेर होइन काम गर्ने उचित पार्टनरको अभावमा व्यवसायलाई विस्तार गर्न सक्दैनौ । उत्साहित जोशमा केही यूवाहरु मिली कुनै व्यवसाय सञ्चालन गर्दछन् । तर विभिन्न बहानामा कुनै पार्टनरले व्यवसायबाट हात निकालिदिनाले लाखौँ र करोडौँको व्यवसाय नै धरापमा परेको प्रशस्त उदाहरण भेटिने गरेको छ । विदेशबाट आएको मानिससँग पैसा हुन्छ भनेर व्यवसाय गर्न चाह राख्ने मानिसहरु धेरै हुन्छन् । तर व्यवसायलाई निरन्तरता दिने मानिस एकदम कम मात्र हुन्छन् । त्यसैले व्यवसायीक पार्टनर छनोट गर्दा व्यवसायीक पृष्ठभूमी भएको र लगनशिल एवं जोखिम बहन गर्न सक्ने किसिमको मानिससँग मात्र व्यवसायीक मित्रताको हात बढाउनुहोस् ।

बजारको माग अध्ययन गरेर लगानी गर्नुहोस्

केही मानिसहसँग पैसा प्रशस्त हुन्छ, लगानी गर्ने इच्छाशक्ति पनि हुन्छ, त्यससँगै तत्परता पनि हुन्छ । तर कुन क्षेत्रमा लगानी गर्दा दीर्घकालसम्म प्रतिफल दिन सक्छ भन्ने कुराको अभावका कारण लगानी गर्न सकिरहेको हुदैँनन् । त्यतिमात्र नभएर कुन क्षेत्रमा लगानी गर्ने भन्ने ज्ञानको कमीका कारण पनि मानिसहरुमा अन्योलता छाउने गरेको छ । त्यसैले तपाईले सर्वप्रथम लगानीको क्षेत्र छनोट गर्दा बजार अनुगमन गर्नुहोस् । साथै कस्तो वस्तुको उत्पादन गर्दा बजारकाे माग पुरा गर्न सक्छ अनि आम मानिसहरुका लागि कस्ता वस्तु तथा सेवाको उत्पादनले माग पुरा गर्न सक्छ त्यस्तो क्षेत्रमा लगानी गरी व्यवसाय अगाडी बढाउनुहोस् ।

दीर्घकालिन लक्ष्य र दृढ संकल्प

भनिन्छ, सफल मानिसहरुले फरक काम केही गर्दैनन्, तर हरेक काम फरक तरिकाले गर्दछन् । व्यवसायका लागि सबै भन्दा ठुलो कुरा भनेको दृढ संकल्प साथै दुरदर्शीता हो । नेपालको राजनीतिक अस्तिरता एवं समस्यालाई नै मुख्य कारण देखाउँदै विदेश जाने तन्नेरीहरुको भीड ठुलो छ । तर त्यहि समस्या, अस्तिरता एवं कमि कमजोरीलाई अवसरका रुपमा लिएर काम गरि सफल बन्ने व्यवसायीहरु पनि रहेका छन् । त्यसैले तपाई कुनै काम गर्नुपुर्व त्यस कामप्रतिको मार्गचित्र बनाउनुहोस् त्यसभित्र आउन सक्ने सम्भावित समस्या साथै समाधानका उपायहरुलाई पूर्व मुल्यांकन गरि लाग्न सकेमा मात्र सफल बन्न सक्नुहुनेछ ।

व्यवसायमा प्रविधीलाई जोड

विभिन्न आधुनिक प्रविधीका कारण व्यवसायलाई सहज वातावरण निर्माण भइरहेको छ । त्यस्तो अवस्थामा व्यवसाय शुरु गर्नुपुर्व आफूले गर्न लागेको व्यवसायलाई सहजता दिन कस्ता कस्ता प्रविधी एवं उपकरणहरुको निर्माण एवं विश्व बजारमा आएका छन् त्यसको बारेमा जानकारी राखी जोड दिनुहोस् । साथै तपाईको व्यवसायीक सोचलाइ परिवर्तनशील बनाउनुहोस् । एउटा सानो क्षेत्रबाट थालिएको व्यवसायलाइ समयानुसार परिवर्तनशील एवं प्रतिष्पर्धी बनाउँदै लैजानुहोस् । त्यसका लागि व्यवसायीक जगतका मानिसहरुसँग निरन्तर भेटघाट एवं आइडिया सेयरिङ गर्दै आफूमा लागू नभएका प्रविधी साथै धारणालाइ अवलम्वन गर्दै लैजानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?