उजुरी पढेपछि प्रहरी नै चकितः ९६.८ प्रतिशत सनसनीपूर्ण अपराध फेसबुकबाटै

दिनमै १० भन्दा धेरै उजुरी दर्ता, महिला बढी पीडित

appharu
0
Shares

काठमाडौं – टिकटक, फेसबुक,ट्विटर, इन्स्टाग्राम, भाइबर, इमो, युट्युब तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल नेपालीहरुले पनि धेरै मात्रामा प्रयोग गर्ने एपहरु हुन् । एक ठाउँबाट अर्काे ठाउँमा तत्कालै सूचना आदनप्रदान गर्नको लागि औधी सहज माध्यम हो, सामाजिक सञ्जाल । यहि सञ्जालका कारण सिंगो विश्व सानो गाउँमा परिणत भएको छ । त्यसैले कतिपयको त हराएका आफन्तहरुलाई सम्पर्कमा ल्याउने चौतारो बनेको छ, सामाजिक सञ्जाल । यिनै सामाजिक सञ्जालको सदुपयोगले हजारौँको हातमुख जोर्न पुगेको छ । घरजम जोडिएको, बेसहारालाई सहारा मिलेको, विज्ञापन लगायतका काममा सहजता थपेको पनि हामीले सुनेका छौँ ।

तर यीनै सञ्जालको उचित प्रयोगको ज्ञान नहुँदा कल्पनै गर्न नसकिने दर्दनाक घटना भएका छन् । यी सञ्जालको दुरुपयोगले लाखौँको घरबार बिग्रीएको छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण पति पत्नीबीचको सुमधुर सम्बन्ध बिग्रिनुका साथसाथै सम्बन्ध बिच्छेदसम्मका घटनाहरु बढेका छन् । परिवार टुक्रिएको छ । समाज एकांकी बन्दै गएको छ । मानिसहरुले आत्महत्या गर्नसम्म पनि यहिँ सञ्जालमा लाईभमा आउने कुचेष्टा गरेका उदाहरण पनि हाम्रा सामू छ ।


सामाजिक सञ्जाल अहिले एक हिसाबमा मनोरोग जस्तै बनेको छ । विहान उठ्ने बित्तिकै मानिसहरुले सामाजिक सञ्जाल खोल्न पाएनन् भने अनुहारको भावभंगी नै बिगार्छन् । एकैछिन ईन्टरनेट नहुँदा उनीहरुको टाउको दुखाई सुरु हुन्छ । अनुहार मलिन देखिन्छ । मन विचलित हुने गर्छ । उनीहरु स्थिर भइरहन सक्दैनन् । यसो किन हुन्छ ? हामीले मनोविश्लेषक बासु आचार्यसँग सोध्यौँ । आचार्यका अनुसार मानिसहरु बढ्दो प्रविधीको प्रयोग सँगसँगै यसको दलदलमा फस्दै गएका छन् ।

पढेलेखेका, बुझेका , देश काल परिस्थितीबारे बताउन सक्नेहरु पनि यसरी कुचक्र फस्नु भनेको मानसिक रोग नै हो । मन वेचैनी हुने, स्थिर हुन नसक्ने, एकोरीने, तलतल लागेजस्तो हुने फेसबुक लगायतका सञ्जालको लतले बिगारेको मनोदशा नै हो ।

यस्ता घटनाहरु बढ्नुमा जनचेतनाको कमी प्रमुख कारण रहेको बताउँछन् केन्द्रीय साइबर अपराध ब्यूरोका प्रवक्ता नविन्द्र अर्याल । “अहिले सामाजिक सञ्जालका धेरै घटना दर्ता भएका छन्, यी सञ्जाल कसरी चलाउने भन्ने प्रष्ट जानकारी नभएका कारण अपराधका घटना बढिरहेका छन् । सामाजिक सञ्जालको प्रयोग गर्नुपूर्व त्यहाँ केहि ‘टर्म एण्ड कन्डिसन’ भनेर दिईएको हुन्छ, तर हामीलाई त्यो पढ्ने जाँगर छैन । कम्तिमा आफूले प्रयोग गरेको कुराबारे त थाहा पाऔँ । अर्यालले थपे,
सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो सामाजिक सञ्जालको मोबाइल नम्बर र इमेल आईडी अपडेट नगर्दा पनि यस्तो समस्या आउने गर्छ ।
लामो समय यिनै विषयलाई नजिकबाट नियालेका उनले प्रयोगकर्ताको ज्ञान र चेतनामा प्रश्न गर्दै भने, ‘अहिले सामाजिक सञ्जालमा रिकभरको लागि मोबाइल र इमेल अपडेट गर्ने व्यवस्था पनि छ तर धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यो ज्ञान नै छैन” उनले भने । अपडेट नगरेको खण्डमा आफ्नो सामाजिक सञ्जाल अरु कसैले दुरुपयोग गरेर फसिने अवस्था नआउला भन्न सकिन्न ।

दैनिक ९ देखि १० वटा उजुरी

केन्द्रीय साइबर अपराध ब्यूरो नेपाल भोटाहिटीमा दैनिकजसो ९ देखि १० वटा उजुरी पर्ने गरेका छन् । सामाजिक सञ्जालमध्ये ९६.८ प्रतिशत बढी अपराध फेसबूकमा भएको देखिएको छ ।

स्थापना भएको ९ महिनामा ब्यूरोमा फेसबूकका धेरै घटनाहरु दर्ता भएका छन् । यो महिनामा मात्र सामाजिक सञ्जाल फेसबुकमा १ सय ७९ वटा घटना केन्द्रीय साइबर अपराध ब्यूरो नेपालमा दर्ता भएको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नविन्द्र अर्यालले बताए । फेसबुकमा बाहेक अन्यमा भने त्यति धेरै घटना नभएको उनको भनाई छ ।

उनले भने, “आर्थिक वर्ष ०७५/०७६को साउन यता सामाजिक सञ्जालबाट ८ सय १८ वटा अपराधका घटना दर्ता भएका छन् । जसमा १८ वर्ष कम उमेर समुहका ३७, १८ भन्दा माथिको उमेर समुहका ७ सय ८१ वटा घटनाहरु महाशाखामा दर्ता भएका छन् ।”
सामाजिक सञ्जाल मार्फत महाशाखामा दर्ता भएका अपराधमा महिलाहरुको संख्या धेरै रहेको छ । गत साउन महिना यता महाशाखामा पुरुषका ३ सय २८ वटा घटना दर्ता हुँदा महिलाका ४ सय ७३ वटा घटना दर्ता भएका छन् । त्यस्तै अन्यका १७ वटा अपराधका घटनाहरु महाशाखामा दर्ता भएका छन् ।

कति भए सामाजिक सञ्जालमार्फत अपराध ?

पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएका उजुरी प्रहरी समक्ष आएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएको छ ।

आर्थिक वर्ष २०७२/ ७३ मा सामाजिक सञ्जाल फेसबूकमा भएको अपराध १७ वटा, २०७३ /०७४ मा २२ वटा, २०७४ /०७५ मा ५० वटा र २०७५ /०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् । आर्थिक वर्ष २०७२/ ७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३ /०७४ मा १ वटा, २०७४/ ०७५ मा २ वटा र ०७५ /०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।


सामाजिक सञ्जालको अर्को विद्रुप पाटो पनि छ ।
सामाजिक सञ्जालबाट मानिसहरुले आफ्नो गोपनीयता भंग भएसँगै आत्महत्या गरिरहेका छन् । सामाजिक सञ्जालले समाजमा सिर्जना गरेको अर्को बिकराल पाटो हो यो । गत असारमा ओखलढुंगाकी १६वर्षे गोमा कार्कीले सामाजिक सञ्जाल फेसबुककै कारण आत्महत्या गरिन् । उनको फोटो राखेर युवराज कार्की नाम गरेका व्यक्तिले सबैकी बुढी म नामक फेसबुक आइडी खोलेका थिए । युवराजले एकपक्षिय माया गर्ने गरेको र गोमाले अस्विकार गरेपछि उनले उनको फोटो राखेर बद्नाम गर्ने मनशाय बनाएको अनुसन्धानबाट खुल्यो । तर त्यतिन्जेलसम्म गोमाले प्राण त्यागीसकेकी थिईन् ।

केहि समयम अगाडी मोबाईलमा लाईभ आएर आत्महत्या गरेका घटना तथा फेसबुकमा स्टाटर राखेर आत्महत्या गरेका घटना पनि बाहिरीएका थिए ।


कानुनमा के छ ?
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा सामाजिक सञ्जालको दुरुपयोग गरेको अवस्थामा १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने वा अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,’ ऐनमा उल्लेख गरिएको छ ।

कानून बनेको भएपनि सामाजिक सञ्जाल प्रयोगकर्ता त्यसबारे बेखबर छन् । थाहा पाएकाहरुले पनि त्यसलाई पालना गरेको पाइदैन । त्यसैले सामाजिक सञ्जालको राम्रो ज्ञानविनाको प्रयोग आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर हो । सामाजिक सञ्जालको माध्यमबाट कसैलाई पनि गालीगलौज गर्ने, फोटोलाई बिगारेर अनर्थ लाग्ने बनाउने, अपशब्द लेख्नेजस्ता क्रियाकलाप गर्न पाइदैन ।

-कसरी अपनाउने सावधानी ?

-आफ्नो घरको लोकसन, वेडसिनको तस्विर,भिडियो सामाजिक सञ्जालमा सेयर नगर्ने । 

-फोटोसप गरिएका तस्विर अपलोड नगर्ने 

-आफ्नो सामाजिक सञ्जाल अरुको डिभाईसमा नखोल्ने

-साईबरमा फेसबुक वा सामाजिक सञ्जाल खोल्दा लगआउट गर्न नबिर्सने ।

-ह्याक भएमा तत्काल प्रहरीलाई खबर गर्ने ।

-चिठ्ठा परेको, उपहार प्राप्त गरेको भन्दै आएका फोन, म्यासेज, फोटामा चासो नदिने बरु प्रहरीलाई खबर गरेर अनुसन्धानमा सघाउने ।

-मोबाईल बनाउन दिँदा आफ्नो ग्यालरी लक गर्ने । सामाजिक सञ्जालमा लग आउट गर्ने ।

-सकेसम्म फोन गर्नको अलावा अर्को व्यक्तिलाई आफ्नो डिभाईस प्रयोग गर्न नदिने ।

-सामाजिक सञ्जालबाट आफ्ना प्राईभेट कुराहरु सेयर नगर्ने ।

-बाहिर जाँदै गरेको कुरा फेसबुकमा जानकारी नदिने ।

-धेरै समय सामाजिक सञ्जालमा नबस्ने ।

-नचिनेको, प्रोफाईल नक्कली भएको, फेक आईडीबारे जानकार हुने ।

-अपरिचित मान्छेसँग सामाजिक सञ्जालबाट कुरा गर्ने, नाता गाँस्ने, नजिक हुने भेट्न जाने नगर्ने । यदि यसो गर्नैपरेमा अभिभावकलाई /साथीलाई साथमा लैजाने ।

-सामाजिक सञ्जालमा खर्च गर्ने समय आर्ट, पेन्टिङ, समाजसेवा, सरसफाई, अध्ययन, घुमफिर, लाईब्रेरी जाने, खोजका किताब पढ्ने, पत्रपत्रिका पढ्ने, नियमित हेल्थ चेकअप, परिवारमा सरसहयोग, बालबालिका बृद्धबृद्धाको हेरचाह गर्ने ।

-तपाई यति वर्षमा मर्नुहुनेछ, तपाईको अनुहार १० वर्षमा यस्तो देखिनेछ जस्ता एपहरुमा आफ्नो सामाजिक सञ्जाललाई कनेक्ट नगर्नुहोस् ।

-कुनैपनि लिंक खोल्दा तपाईलाई सामाजिक सञ्जाल ‘रिकनेक्ट’ गर्ने अप्सन आयोभने ‘ब्याक’ भएर सोच्नुहोस् ।

-यो भिडियो तपाईको हो ? भन्दै आएका लिंक क्लिक गर्दा धेरैको फेसबुक ह्याक भएको छ । त्यसकारण त्यस्ता लिंक नखोल्नुहोस् ।

-सकारात्मक सोँच राख्ने । यो सोच्नुहोस् सिसाको महलमा बसेर बाहिर ढुंगा हान्नु भनेको आकाशतर्फ फर्केर थुक्ने जस्तै हो ।
-अनुसन्धानमा खटिएका प्रहरी अधिकारी सामाजिक सञ्जालबाट भएका यी दुर्घटनाका विषयलाई लिएर आफैँ अचम्मित भएका प्रशस्तै उदाहरण छन् ।

यसअघि लोकपथमा प्रकशित यी उपयोगी सामाग्री पढ्नुहोला  । तलको लिंक क्लिक गर्नुहोस् ।

-अमेरिकाको ललीपप देखाएर ३ बिहे, दर्जनौं ठगी : नयाँ बिहेको कुरो छिन्न जाँदा युवती यसरी परिन् प्रहरी फन्दामा

-फेसबुकले निम्त्याएका भयावह परिणाम आत्महत्यादेखि प्रहरी खोरसम्म

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

अपराध कर्ममा महिलाको बढ्दो संलग्नता, यसकारण फस्दैछन् दलदलमा ! 

 

फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन् ? 

यूवतीको ज्यान लिने त्यो म्यासेज‘ 

 

सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा

सामाजिक सञ्जालः प्रशसंकदेखि आलोचकसम्मको साझा थलो 

 

चर्चामा आउने दाउमा युवतीका अनेक ‘स्क्यान्डल’ :  सामाजिक सञ्जाल कि सम्भोग कक्ष  ? 

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द गर्ने चेतावनी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?