अपराध कर्ममा महिलाको बढ्दो संलग्नता, यसकारण फस्दैछन् दलदलमा !

आउने भए आजै आउनू, नत्र बूढो आउँछ क्या ! हाम्लाई मार पर्दैन कि क्याहो !
…………………….
त्यो केजाति खोल पनि लिएर आउनू नि, तेसै त फेरि अर्को बित्यास् पर्ला !
के हो खोल भन्या, मैले तिम्रो कुरै बुझिन, अलि प्रष्ट भनन !
कण्डम ! ईऽऽऽ…छ्या ! कस्तो बुझ पचाएर सोध्नुपर्ने भन्या ! अब त बुझियो !?

माथिको कुराकानीबाटै प्रष्ट होला, एउटी विवाहित महिला आफ्नो लोग्ने घरबाहिर भएको मौका छोपी परपुरूषसँग शारीरिक सम्बन्ध राख्न घरमै बोलाउँदै छन् । कर्डलेस् टेलिफोनबाट गरिएको होला यो कुराकानी, त्यसैले एफ्एम् मिटरमा हालै टिपिएको थियो । चीनिँया सस्ता मूल्यका कर्डलेस सेटबाट कुराकानी गरियो भने यसरी नै एफ्एम् मा जाने सम्भावना प्रचुर हुन्छ ।
राजधानी उपत्यकाको जनसंख्या करिब ४० लाख पुगिसक्यो । तर रोजगारीको कुनै भनेजस्तो व्यवस्था नभएको कारण वैध ब्यवसायका साथै अवैध ब्यवसाय र अपराधको गति पनि त्यहि रफ्तारमा बढिरहेको छ । उल्लेखनीय कुरा त के छ भने यस्ता धन्धामा महिलाको सहभागिता पनि त्यही अनुपातले बढिरहेको छ ।

छःमहिनाअघि भक्तपुरमा एउटी युवतीले हत्यारालाई पैसा दिई लगाएर आफ्नै आमालाई मारी  ।

अपराधमा महिलाहरुको संलग्नता बढिरहेको छ ।
केही महिना अगाडिको कुरा हो, यो पंक्तिकार चढेको राजधानीका सिटी बसमा निकै भीड थियो । धेरै यात्रुहरू सिलिङ्को डण्डी समातेर अटाईनअटाई उभिइरहेका थियौँ । यो पंक्तिकार उभिएको ठाउँबाट तीनचार जना यात्रु पछाडिका स्थानमा दुईटी मङ्गोल अनुहारका युवतीहरू उभिइरहेको पंक्तिकारले पनि देखेको थियो । दुबैले जिन्स् पाइन्ट र टिसर्ट लगाएको, एउटीले पातलो ज्याकेट पनि लगाएकी छ । यत्तिकैमा त्यहीँ भिडभित्र कोलाहल मच्चियो । एउटा यात्रुको खल्तीबाट पैसाको वालेट झिकेको आरोप ज्याकेट नलगाएकी युवतीमाथि लगाइयो । पैसा झिकिने युवक सोझो, सालिन, सुसंस्कृत, खातापिता परिवारको, कतै काममा लागेको र राम्रै आम्दानी गर्ने जस्तो देखिन्थ्यो । तर ती दुबै युवती युवकमाथि खनिएर आपूm चोखो हुने र युवकलाई बेवकुफ बनाउने कोशिश गर्नथाले ।

सबै यात्रुहरूले युवतीहरूमाथि केरकार गरे । कसैकसैले त युवतीहरूले पकेटमारेको पत्याउन नसकेर उल्टै शङ्कालु शैलीमा युवकलाई नै प्रतिप्रश्न गर्दै थिए । बसका अन्य कतिपय महिलाले कुरै नबुझी युवतीहरूकै पक्ष लिए । तर युवकले भद्रताका साथ आफ्नो अडान छोडेन । हुँदाहुँदा युवतीहरूको खल्ती चेक गर्नुपर्ने कुरा युवकले झिक्यो । पहिले त युवतीहरूले चप्पलले हिर्काउँला झैँ गरेर रिस देखाए । तर युवकको अडान कायमै रहेको हुनाले उनीहरू, “ए बस रोक हामी उत्रिन्छौँ, यस्ता फटाहा भएको बसमा के चढ्नु…….!” भन्दै उत्रिन कोशिश गरे ।

त्यसपछि यात्रुहरूलाई पनि शङ्का बढ्यो र भने, आफू निर्दोष भए खल्ती देखाएर सफाइ लिनुपर्छ, यसरी बिचैमा ओर्लिन पाईँदैन । खल्ती चेक हुने नै भयो । युवतीहरूको अनुहारको वर्ण एकाएक फेरियो । तपाईँहरू दुईटैको खल्ती चेक गर्नुपर्छ, म त्यसै छोड्नेवाला छैन, युवक भनिरहेको थियो । खल्ती चेक हुनथालेपछि ज्याकेट लगाउने युवती भन्नथाली, “मलाई हतार छ, छोड्नुहोस्, मान्छेलाई ह्वाँ कहाँकहाँ पुग्नुछ……।” नभन्दै युवकको वालेट युवतीका ज्याकेटको भित्री खल्तीबाट निस्कियो । ज्याकेट नलगाएकी युवतीले पर्स् झिकेर साथीलाई दिइछ । कुरा बुझ्दै लैजाँदा ती दुृवैको घर काभ्रे रहेछ । गौशाला प्रहरी कार्यालय अगाडि बस रोकेर दुवैलाई प्रहरीसमक्ष बुझाइयो ।

अर्को घटना पनि सुनाउँ ।

यो पंक्तिकारले त्यस दिन कालो कोटसहित सर्टपाइन्ट लगाएको थियो । भोक लागेर एउटा रेष्टुरेण्टमा खाजा खान भनेर पसियो । रेष्टुरेण्टमा पर्दाले छेकेर क्याबिनजस्तो बनाइएको रहेछ । एउटा क्याबिनजस्तोमा गएर बसेपछि युवती वेट्रेस हतारहतार आएर सोधी, “हजुर के खाने ?” पंक्तिकारले मोमो अर्डर गरेपछि ऊ अर्डर किचेनमा पु¥याएर पंक्तिकारका सामुन्ने उभिएर सोधी, “हजुर ओकिल हो ?” ‘होइन’ भन्दै पंक्तिकार पनि युवतीतिर आकर्षित भयो, छेउमा बस्न भन्यो र परिचय गर्नथाल्यो । युवतीले धन्कुटा पारीपात्ले घर र कार्की थर भएको बताई । कुरा गर्दैजाँदा उसले आपूmलाई पनि सँगै लैजान भनी । पंक्तिकारले सोध्यो, “तिमीलाई लगेर मैले के गर्नु, कहाँ राख्नु !” उसको सहज जवाफ थियो, “बेच्नमात्र नबेचिदिनुहोस्, गरिखाने ठाउँ र मासिक आम्दानी दिलाइदिनु होस्, अरू जे मन लाग्छ, तपाईँको खुशी…..।”

कुराकानीका सिलसिलामा उसले यौन ब्यापार खुला तर लाइसेन्स् प्रणाली लागु गर्नुपर्ने, पूर्ण शारीरिक सुरक्षा र ऐन–नियम हुनुपर्ने वकालत गरी, “जबसम्म यो संसारमा भाले र पोथीका रूपमा प्राणीको अस्तित्व रहन्छ, त्यो प्रकृतिलाई निषेध गर्न सक्नुहुन्न, सही र सुरक्षित बाटो दिन सक्नुहुन्छ, गर्ने नै त्यही हो । सेक्सलाई कानुनले बन्देज लगाउन सक्नुहुन्न । हुन पनि हो, अपराधी हुनुभन्दा बेश्या हुनु धेरै जाति !” युवती दशकक्षासम्म पढेकी तर टेस्ट फेल भएकी रहिछ । उसकोजस्तो आर्थिक अवस्था र पारिवारिक बाध्यता भएकाहरू लाखौँ छन् । उसले भनी, “अँऽऽऽ सर, पत्याउनै सक्नुहुन्न तपाईँ, कस्ताकस्ता महिला यहाँ केके गर्छन्, बाहिरबाट एकपटक झलक्क देख्नेलाई के थाहा ! अपराध र भ्रष्टाचार बढाउनमा नेपालका आइमाईहरू कम छैनन् ।”

कुरा गर्दैजाँदा उसले नेपाली महिलाका कमजोरीका बारेमा निकै घतलाग्दा कुरा पनि सुनाई, यहाँसम्म कि उनीहरू जतिसुकै नयाँ पैसा (नोट) पनि कच्याककुचुक पारेर मात्र बोक्नेगर्छन्, बसमा यात्रा गर्दा छाद्ने पनि प्रायः महिला नै हुन्, कहिलेकहीँ चुलो छोडेर बाहिर निस्केका आइमाई त झन् हेर्दा टिपटप देखिने मात्र हुन्, सडकमा कहाँ उभिनु ठीक वा बेठीक हुन्छ त्यो पनि जान्दैनन्, बसमा कुनै पुरूषले सिट छोडेर बस्न दियो भने उनीहरू धन्यवाद भन्ने उच्चारण गर्नसम्म नजान्नु त के चाहँदैनन्, शहरभित्र माइक्रो वा टेम्पोमा यात्रा गर्दा बसुन्जेल भाडा तिर्ने तरखर गर्दैनन्, ओर्लेपछि पाँचशय र हजारका नोट तेस्र्याउन थाल्छन्जस्ता सम्मका ससाना तर भद्रबिहिनता देखिने कुरा गरी ।

राजधानीमा बढ्दो अपराधमा अपराधीले तीनवटा पक्षको सहारा लिनु अत्यन्त जरूरी ठान्नेगर्छन्– नेता, पुलिस र महिला । यस्ता अपराधमा यी तीन पक्षको भूमिका प्रत्यक्ष वा परोक्ष रूपमा हुनेगर्छ । महिला बेचबिखन, वेश्यावृत्ति, लागुपदार्थको ओसारपसार तथा दुब्र्यसन, तस्करी, कालोबजारी, वैदेशिक रोजगारीका क्षेत्रमा हुने आपराधिक तथा अवैध गतिविधि आदिमा महिला संलग्नता बढ्दो गतिमा छ । यौनमा आएको खुलापनले अस्तब्यस्तता बढाइरहेको छ । दिउँसो पढाइ छोडेर केटा साथीसँग बरालिँदै हिँडने स्कूल–कलेजका विद्यार्थीदेखि घरानीया महिलाहरूसम्ममा परपुरूषसँग यौन चाहना पूरा गर्ने आँट बढिरहेको छ ।

त्यस्तो अवैध क्रियाकलाप आपराधिक हुनसक्छ र नहुन पनि सक्छ, तर सामाजिक सभ्यता त अवैध गतिविधिले अवश्य खल्बल्याउँछ । हाम्रो राजधानी यही अवस्था भोगिरहेको छ । यहाँ महिला अपराधको गति अतितीब्र भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?