जसले मतले हारे तर मन जिते, भन्छन् “अबको जीवन संगठन सुधार र समाजसेवामा”

काठमाडौं । मौसम चिसो भएपनि यस वर्ष मंसिरको दोस्रो सातासम्म धेरैलाई उपनिर्वाचनको माहोलले ततायो । वि सं २०७४ सालको वैशाख तथा मंसिरमा भएको स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । उक्त निर्वाचनमा विजयी भएका उम्मेदवारहरुका कतैको निधन तथा यावत कारणहरुले गर्दा पद रिक्त भयो । कानुनी प्रावधान अनुसार त्यसरी रिक्त भएका ५२ स्थानमा प्रतिनिधि चयनका लागि मंसिर १४ मा निर्वाचन भयो जसको मत परिणामसमेत आइसकेको छ ।

पर्यटकीय नगरी पोखराले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गर्दछ । यसपालि पोखरा पर्यटकीय हिसाबले मात्र नभएर चुनावी माहोलका कारण पनि चर्चामै रह्यो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको विं सं २०७५ फागुनमा भएको हेलिकप्टर दुर्घटनामा दुखद निधन भएसँगै उक्त क्षेत्र प्रतिनिधिविहिन भएको थियो । त्यसकै पदपूर्तिका लागि भएको निर्वाचन र स्वर्गीय मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको उम्मेदवारीको कारण आम मानिसको ध्यान त्यतातिर तानिएको थियो ।

कास्की क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको थियो स्वर्गीय अधिकारीको धर्मपत्नी विद्या भट्टराई । जसलाई टक्कर दिन चुनाबी मैदानमा कांग्रेसका तर्फबाट पुराना राजनीतिज्ञ खेमराज पौडेल उम्मेदावरको रुपमा हुनुहुन्थ्यो । तथा अन्य दलका पनि योग्य उम्मेदवारहरु पनि प्रतिष्पर्धाको लागि चुनावमा होमिएका थिए । त्याग, बलिदानी, नैतिकता एवं बयोवृद्ध उमेरमा पनि युवा जोस भएका नेताका रुपमा परिचित उम्मेदवार पौडेलप्रति मतदाताको सम्मान बढी थियो । यता प्रतिद्वन्दी उम्मेदवार भट्टराईमा एक त श्रीमान्को मृत्यु पश्चात् उम्मेदवारी दिएकोमा सहानुभुती, सोकलाई शक्तिमा बदल्न सक्ने अब्बल र प्राज्ञिक क्षमता भएकी महिला तथा विद्यार्थी जीवनमा लामो समय राजनीति गरेको इतिहासका कारण पनि यो प्रतिस्पर्धा सबैको नजरमा कौतुहलताको विषय बनेको थियो ।

उम्मेदवार पौडेल पुराना राजनीतिज्ञ मात्र नभएर, संस्कृत भाषाका ज्ञाता तथा धेरैलाई शिक्षा दिएका कारण सम्मानित व्यक्तित्व हुनुहुन्छ । कांग्रेसले पौडेललाई उम्मेदवारका रुपमा छनोट गर्दा उमेरगत आधारमा सबैले खिस्सी गर्दै सामाजिक सञ्जालका भित्ताहरु रंगाएका थिए । सँगसँगै उहाँलाई सम्मान र प्रशंसाले हौसला दिनेहरुको जमात पनि कम चाहिँ थिएन । त्याग, समर्पण र आचरणको राजनीतिका लागि अब्बल पौडेल कांग्रेसी मात्र नभएर गैरकांग्रसीहरुका लागि समेत प्रेरणाका स्रोतका रुपमा जनमानसमा परिचित हुनुहुन्थ्यो ।

उमेरले बयोवृद्ध भएपनि युवा जोस देखिन्थ्यो पौडेलमा । चुनावी सभाका कार्यक्रमहरुमा समेत उहाँ भन्नुहुन्थ्यो, ‘मानिस उमेरले होइन विचारले बुढो हुन्छ’ । मतदाताका घरमा स्वयम आफै पुग्दा सबै हर्षित हुने उहाँका समकक्षीहरु बताउँछन् । उहाँबाटै आशिर्वाद लिएको दृश्य पनि सामाजिक सञ्जालमा प्रशस्त देखिएको थियो । त्याग, निष्टा, सदाचार एवम विचारले खारिएका कारण अब्बल मान्दै टिकट दिएर कांग्रेसले पौडेलको सम्मान गरेको भन्दा अतियुक्ती नहोला ।

टिकट मात्र होइन सरकारबाट जनता आजित छन् भन्ने देखाउन पनि पौडेलको जीतको लागि कांग्रेस कम्मर कसेरै लागेको थियो । तर, करिब ८ हजार भन्दा बढी मतान्तरले प्रतिद्वन्दी विजयी हुँदा खादाले सम्मान गर्दै बधाइ दिने पहिलो व्यक्ति उहाँ नै हुनुभयो । चुनावी सभाहरूमा उहाँले आफ्नो प्रतिस्पर्धी विद्या नभएर नेकपाको प्रवृत्ति भएको बताउनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकारले जनताको आश गरे अनुसार काम गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै सरकारलाई सचेत गराउन आफूले पार्टीप्रतिको दम्भलाई निस्तेज पार्न उम्मेद्वारको रुपमा आएको धारणा दिँदै आउनुभएको थियो ।

धेरै उतारचढाव तथा चौकाछक्काको प्रहार छातीले सहेको एक असल राजनीतिक योद्धालाई चुनावी हारले त्यति पिरोल्न सकेन । पराजय बेहोर्दै गर्दा, निष्ठावान मानिस चुनाव हार्दापनि हाँस्दै जाने सन्देश दिँदै जुन व्यवस्था ल्याउनका लागि आफूले गरेको त्याग सम्झनामा राख्दै सामाजिक सञ्जालमा पोखिनुभयो पौडेल ।

यसरी पराजय भोगेको उम्मेदवारले खुसी व्यक्त गर्नसक्ने अदम्य साहस हुनु स-सानो कुरामा हतोत्साहित हुने पुस्ताका लागि एक गहन सन्देश भएको राजनीतिज्ञहरुको विश्लेषण छ । पराजित परिणाम पछि फरक राजनीतिक धार भन्दै राजनीतिमा आएका दलका नेता र पौडेलको अभिव्यक्तिमा ठुलो अन्तर पाइन्छ ।

यसैक्रममा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उहाँको पार्टीले निकै थोरै मत पाएकोमा यस मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन गरिदिएको र यो अवस्था चिन्ताजनक भएको भन्दै सामाजिक सञ्जालमा पोखिनुभयो । हो त्यसबाट पनि बुझ्न सकिन्छ कि राजनीति फगत मीठो एजेन्डा र व्यक्तिगत आक्षेपमा मात्र टिक्दैन ।

पत्रकारिता र राजनीति कति फरक विषय हुन् भन्ने कुरा चुनावमा पराजय भोगेपछि दिएको प्रतिकृयाले प्रमाणित गर्दछ । हो, राजनीतिमा पढाइले मात्र होइन सडक सङ्घर्ष देखि जेलनेल भोगेको मानिसले मात्र हारेर पनि राजनीति जितेको ठहर हुन्छ ।

उमेरले ७५ वर्ष लाग्नुभएको पौडेलको राजनीतिक यात्रा २०१७ सालमा राजाले ‘कू’ गरेपछि नै शुरु भएको उहाँको दाबी छ । बिपी कोइरालासँगको राजनीतिक उठबसले उहाँको राजनीतिक दर्शन र सिद्धान्तलाई अझ मलजल गर्ने काम ग-यो । विपी कोइराला बन्दी हुँदा उहाँहरुको धेरै पटक भेटघाट भएको थियो । राजाले पञ्चायत व्यवस्था लागु गरेपछि पटकपटक जेल पर्नुभएको पौडेल हरेक आन्दोलनमा सरिक भएको बताउनुहुन्छ । यसै क्रममा बिपी कोइराला, शुवर्ण शमसेर, गणेशमान सिंह तथा कृष्ण प्रसाद भट्टराई लगायत नेताहरु समातिँदा आफू साक्षी रहेको बताउनुहुन्छ । पार्टीमा लागेर त्याग, सङघर्ष र बलिदानी गर्दा उचित न्याय नपाएको भएपनि उहाँमा त्यस किसिमको बैरभाव नदेखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

संस्कृत भाषामा स्नातकोत्तर गर्नुभएका पौडेलले २० वर्ष अध्यापन समेत गर्नुभयो । पार्टी राजनीति साथसाथै अध्यापनलाई एकैसाथ लैजानका लागि २० वर्षको अवधि अलि कठिन रहेको बताउनुहुन्छ । र, आफूले पढाउँदाका विद्यार्थीहरुले अहिलेको चुनावमा गुरु भन्दै सहयोग गरेकोमा आफुलाई गर्व लागेको बताउनुहुन्छ पौडेल । पञ्चायत विरुद्धको २०३६, ०४६ तथा ६२ र ६३ को जनआन्दोलनमा आफूले सहभागिता जनाउन पाउँदा साथै प्रजातन्त्रका लागि केही योगदान गर्न पाउँदा गर्व लागेको बताउनुहुन्छ ।

कांग्रेस पार्टी भित्र पनि विभिन्न समयमा विचलनहरु भए । कहिले राजाले जननिर्वाचित सरकारलाई नै अपदस्त गर्ने त कहिले आफैले बनाएको सरकारलाई असक्षम ठानी अपदस्तमा समेत पर्दै गयो । अन्तर सङघर्ष तथा अन्तर पार्टी सङ्घर्ष राजनीतिको लागि स्वभाविक हो । यसै उतारचढावका बीचमा शेरबहादुर देउवाले २०५९ सालमा पार्टी विभाजन पछि देउवाको समर्थनमा लाग्नु भएको थियो । विभाजन पछि भएको कांग्रेस प्रजातान्त्रिकका तर्फबाट आफू कास्की जिल्ला सभापति समेत बनेको बताउनुहुन्छ पौडेल । पदका हिसाबले नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य, उपसभापति, महासमिती सदस्य तथा पटक पटक महाधिवेशन प्रतिनिधि  बन्नुभएका पौडेल कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्य समेत बन्नुभएको थियो ।

अबको राजनीतिक यात्रा कता ? भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, ‘जीवन नै राजनीतिमा बितिसकेको छ, अब जति बाँचिन्छ कांग्रेसको संगठन सुधार साथै समाजसेवामा नै लागिनेछ ।’ पार्टीले चुनावमा बेहोरेको हारबाट चिन्ता व्यक्त गर्दै पौडेल अगाडि थप्नुहुन्छ, ‘पार्टीले असल र राम्रा मान्छेको छनोट गर्न नजान्नाले नै साख गुमाउँदै गएको छ, बाचुन्जेल पार्टीको अवस्था सुदृढ बनाउन लाग्नेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?