पहाडकी रानी, बन्दिपुर जानी ?

शहरको भागदौड र तामझामबाट 'रिफ्रेस' हुन पुग्नैपर्ने ठाउँ

कुनैबेला तनहुँको सदरमुकाम थियो बन्दीपुर । बन्दीपुरको शान कतिसम्म थियो भने छिमेकी जिल्ला गोरखा, तनहुँ, लमजुङ र कास्कीका पश्चिम पहाडबाट दक्षिणतिर सामान लैजान र दक्षिणबाट पश्चिम पहाडी क्षेत्रमा सामान पु-याउन यही बन्दीपुर काफी थियो । तर, अहिले यो ठाउँको परिचय फेरिएको छ ।

अहिले पनि भन्ने गरिन्छ, पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका अतिक्रमण गरिसकेपछि त्यहाँबाट भागेर आएका नेवारहरुले बसाएको बस्ती हो बन्दीपुर । कुनै समय यहाँ मान्छेको चहलपहल बाक्लो थियो । अहिले पातलो छ । तर सुन्दर छ ।

जब वि सं २०२५ सालमा सदरमुकामलाई बन्दीपुरबाट दमौलीमा सारियो, त्यसपछि व्यापारीहरु दमौली, आँबुखैरेनी र नारायणगढतिर लागे । त्यसपछि नै हो बन्दीपुरको अस्तव्यस्तता ओइलाएको ।

भर्खरै मानव सभ्यता ब्युँतेको बन्दीपुरबाट सदरमुकाम उठाइएपछि यो गाउँ एकाएक निर्जन भयो । यो क्षेत्रको ठूलो व्यापारिक ‘हब’ रहेको बन्दीपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने अभियान त्यसपछि मात्र शुरु भएको हो ।

अहिले धेरैका लागि बन्दीपुर आकर्षक पर्यटकीय गन्तव्य स्थल बनेको छ ।

सन् २००५ मा ‘बन्दीपुर इको कल्चरल टुरिजम् प्रोजेक्ट’ अन्तर्गत् बन्दीपुरको ‘रिनोभेसन’ शुरु गरिएको थियो । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थोत्रिएका घरहरुलाई सुन्दर डिजाइन र आकार दिएर सिँगारियो । बाटा र गोरेटाहरुमा ढुङ्गा थपिए । ठाडा बाटाहरुमा खुड्किला बनाइए । यसरी शहरको रुप त फेरियो तर, त्यसको आत्मालाई बदल्ने कोशिश गरिएन । ‘रिनोभेसन’ पश्चात् बन्दीपुर नेवारी संस्कृतिको प्रतिबिम्बका रुपमा झनै निखारिएर आयो । अहिले बन्दीपुर ‘पहाडकी रानी’ का रुपमा पनि परिचित छ ।

प्रकृति र संस्कृतिको बेजोड संगममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आजभोलि बन्दीपुर पुग्छन् ।

राजधानीदेखि कसरी पुग्ने बन्दीपुर?

काठमाडौंबाट सीधै बन्दीपुर जाने सार्वजनिक साधन पाइँदैन । त्यसैले तपाईंले मुग्लिङ हुँदै डुम्रेसम्म एउटा बसमा जानुपर्ने हुन्छ । डुम्रेबाट बन्दीपुरसम्म जाने बस र जीपहरु यात्रु कुरेर बसिरहेका हुन्छन् । यसरी रुटको हिसाब गर्दा काठमाडौंबाट झण्डै ६ घण्टाको यात्रापछि पुगिन्छ बन्दीपुर । बन्दीपुरमा झण्डै बीस हजार मानिस बसोबास गर्छन् । त्यहीँ अटाएको छ नेवारी सभ्यता र संस्कृति पनि ।
एक सय दुई वर्गकिमी क्षेत्रफल ओगटेर आफ्नो सुन्दरतामा रमाएको छ यो बन्दीपुर ।

बन्दीपुरको त्यो सुन्दरता

बन्दीपुर बजार छिर्नासाथ देखिन्छ लस्करै मिलेका घरहरु । घरका झ्यालढोका, टुँडाल, सिँढी आदि काठबाट बनाइएका छन् । ती काठमा पर्यटकको ध्यान खिच्ने आकर्षक बुट्टाहरु कुदिएको छ । प्राय घरमा होटल, रेस्टुरेन्ट छन् । होम स्टेको सुविधा पनि छ बन्दीपुरमा ।

बन्दीपुर बजार क्षेत्रमा सवारी लैजान पाइँदैन । स्थानीयका अनुसार सवारी साधनहरुको चापले बजारलाई प्रदूषित र अशान्त बनाउने भएकाले करिब २० वर्षअघि यहाँको मूलसडकलाई मोटरयुक्त बनाउने योजना लागू गरिएको हो । त्यसो त यो योजनाले बजारलाई फाइदै गरेको छ । सफा र शान्त भएकाले नै यहाँको पर्यटन व्यवसाय झनै फस्टाउँदै गएको छ ।

‘म यहाँ आउँदा एउटा पनि होटल थिएन,’ बन्दीपुरका होटल व्यवसायी रामशरण महर्जन भन्नुहुन्छ, ‘विदेशीलाई त परै जाओस् नेपालीहरुलाई समेत यो ठाउँ यति राम्रो छ भन्ने थाहा थिएन ।’

व्यवसायी महर्जन बन्दीपुर आएको २० वर्षभन्दा बढी भइसक्यो । कामको सिलसिलामा बन्दीपुर आउनुभएको उहाँ यतै बस्न थाले । निकै लामो समय बिताइसकेकाले होला बन्दीपुर फेरिँदै गर्दा त्यसको साक्षी बस्ने मौका उहाँले पाउनुभयो ।

तर, बन्दीपुरमा अहिलेको जस्तो अवस्था पहिले थिएन ।

महर्जनका अनुसार माओवादी जनयुद्धताका यहाँ माओवादीको खुबै बिगबिगी थियो । चन्दा संकलन गरेर, बास मागेर निकै सताउँथे । व्यवसायी मात्र होइन, गाउँलेलाई पनि माओवादीले उत्तिकै आजित पारेका थिए । ‘माओवादीले त मागेको बेला पैसा नदिएको भन्दै एकपटक त मेरो गर्धनमा बन्दुक तेर्साएर जङ्गलसम्म पु¥याएका छन्,’ रामशरणले भन्नुभयो ।

गाउँले र व्यवसायीबाट लिएको पैसाकै भरमा गर्जो टार्ने माओवादी लडाकुहरु ‘चन्दा संकलन’को नाममा अचाक्ली दुःख दिन्थे बन्दीपुरवासीलाई । ‘माओवादीले गर्दा चोरी चाहिँ कम हुन थालेको थियो है,’ रामशरणले अगाडि थप्नुभयो, ‘उनीहरुले चोर्नेलाई नाङ्गेझार बनाएरै पिट्थे ।’

जनयुद्ध सकियो । त्यसपछि बन्दीपुर पर्यटकीय गन्तव्य हुन थाल्यो । होटलहरु थपिए । बसाइँ आउने जनसङ्ख्यामा पनि वृद्धि हुन थाल्यो । गुफा, मन्दिर, गुम्बा, हिमाल, स्मारक, सम्पदा आदिले मान्छेलाई लोभ्याउन थाले ।

एसियाकै सबैभन्दा ठूलो भनिएको सिद्ध गुफा बन्दीपुरमै छ । बजारदेखि एक घण्टाको ओरालो पैदलयात्रा गरेर पुगिने यो गुफा मस्र्याङ्दी नदीको काखमा थपक्क बसेको छ । गुफामा कतै साँघुरा गल्छी छन् त कतै फराकिला फाँट । अजंगको यस गुफाभित्र भग्वान तथा ऋषिमुनिको आकृति देख्न सकिन्छ । गुफा यही युगको हो भनेर यकिनसाथ भन्न नसके पनि यसको अस्तित्त्व द्वापर युगदेखि नै रहेको गुफामा तपस्या गरेर बस्ने मनोहरनाथ योगीले बताउनुभयो ।

‘महाभारतकालमा भगवान श्रीकृष्णलाई राक्षसले लखेट्दै गर्दा यस गुफामा आइपुगेको र यहीँ तपस्या गरेर बसेका ऋषि मुच्कुन्दको आँखाबाट निस्केको आगोको ज्वालाले राक्षस भष्म भएको मानिन्छ,’ योगीले भन्नुभयो ।

उहाँका अनुसार पहिले प्रचारको कमीले गुफामा कोही नआउने भएतापनि आजभोलि गुफामा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

त्यस्तै, बजार नजिकै रहेको टुँडिखेललाई प्राकृतिक भ्यू प्वाइन्ट भन्ने गरिन्छ । फराकिलो क्षेत्रफलका कारण यसलाई टुँडिखेल भनिएको हो । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायत दाँतजस्तै टमक्क मिलेर मुस्कुराइरहेका हिमालको मनमोहक दृश्य नियाल्न भएपनि पर्यटकहरु नछुटाई यो स्थानमा आउने गर्छन् ।

प्याराग्लाइडिङ, चट्टान आरोहण, हाइकिङ, होम स्टे आदि यहाँका अन्य आकर्षणहरु हुन् ।

रात्रिकालीन समयमा धपक्क बल्ने ‘मार्केट’ बन्दीपुर बजारको छुटाउनै नमिल्ने अर्को आकर्षण हो । पङ्क्तिबद्ध घरका अगाडि बालिने ‘स्ट्रीट लाइट’, पसलमा झुन्ड्याइएका ‘ह्यान्डिक्राफ्ट’ र साजसज्जाका सामाग्रीहरु, चिसो सिरेटोले चारैतिर छर्ने मन्धमन्ध सुगन्ध, थरीथरीका देशबाट थरीथरीका भेषमा देखिने पर्यटकहरुले यहाँको माहोल नै छुट्टै बनाएका हुन्छन् । लाग्छ यहाँको हावामा आनन्द मिसिएको छ । त्यही हावाको सास फेर्दै कतिपय पर्यटकहरु होटलको बरण्डामा बसेर गफिरहेका हुन्छन् भने कतिपय यसै बाटोमा छरिएर टहलिरहेका देखिन्छन् ।

यहाँको वातावरण सुरक्षित भएकाले प्राय पर्यटकहरुलाई निश्फिक्री घुम्न, रातिसम्म बाहिरै बस्न, आउनेजाने अन्य व्यक्तिसँग अन्तरक्रिया गर्न दोहोराएर सोच्नुपर्दैन । ‘एक दशकभन्दा बढी भयो मैले पर्यटकहरु लिएर बन्दीपुर आएको अहिलेसम्म चोरी, डकैती, झैझगडाजस्ता घटना भएको थाहा छैन,’ विगत पन्ध्र वर्षदेखि टुरिस्ट गाइडका रुपमा कार्यरत लक्ष्मण शाक्यले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई त लाग्छ, पर्यटकले काठमाडौंलाई भन्दा बढी त बन्दीपुरलाई नै रुचाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?