त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी

लोकपथ
0
Shares


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् ।

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । सोही कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बरालले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई मात्र डीन, सहायक डीन तथा क्याम्पस प्रमुखमा नियुक्त गर्ने विश्वास दिलाए ।

उनले भने, ‘सुरुदेखि नै पदाधिकरीहरु दलीय भागबण्डाको आधारमा नभइकन प्रणालीगत रुपमा नियुक्त हुन्छ भन्ने विषय मैले आफ्नो त्रिवि सुधार योजनामै उल्लेख गरेको छु । त्यसको लागि मापदण्ड निर्धारण गर्न योजना आयोगको पूर्व सदस्यको अध्यक्षतामा समिति गठन गरिसकेका छौं । हामी तीन जना नै मापदण्डअनुसार अबका पदाधिकारी नियुक्त गर्न प्रतिबद्ध छौं, मापदण्ड अनुसार नै नियुक्ति हुन्छ ।’

विकराल समस्याका रुपमा रहेको राजनीतिक नियुक्ति र गोलचक्करबाट विश्वविद्यालयलाई टाढा राखी सुधार गर्ने योजनामा रहेका उपकुलपति बरालले पदाधिकारी नियुक्ति मापदण्ड बन्ने प्रकृयामा रहेकाले हाल कामचलाउ पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै मापदण्ड बनेपछि पूर्ण कार्यान्वयन गर्नेमा जोड दिए ।

उनले भने, ‘हाल मापदण्ड तयार भइ नसकेको हुनाले हामीले खाली भएका स्थानमा काम चलाउ पदाधिकारीको नियुक्त दिइराखेका छौं । मापदण्ड निर्धारणपछि त्यसको आधारमा पूर्ण कार्यान्वयन गर्ने गरी पदाधिकारी नियुक्ति प्रणालीको शुरु गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?