क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’

काठमाडौं । बिहान नेपाली मिडियामा खबर फैलियो । धन्नले ठूलो दुर्घटनाबाट बच्यो सिता एअरको विमान । यो विमानको इन्जिन उडेको ३ मिनेटमा नै फेल भएको थियो । विमानको ईन्जिन आकाशमै फेल भएपनि पाइलटको कुशलताका कारण यो विपद् टरेको हो । हो, पाइलट भरत थापाको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगियो । स्याङ्जा घर भएका थापा अनुभवि क्याप्टेन हुनुहुन्छ । सीता एयरको ड्रोनियर एन–एजेएच कलसाइन भएको विमानले उडेको ३ मिनेटपछिको २९ मिनेट एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भर्नुपरेको थियो ।

विमानमा थापासहित चालक दलका ३ सदस्य मात्रै थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला पुगेको विमान फर्कने क्रममा चालक दलका सदस्य मात्रै थिए । जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण भयो । क्याप्टेन थापाको कुशलताका कारण उहाँसहित विमानमा रहेका अन्य चालक दलका सदस्यको ज्यान बचेको थियो । उक्त जहाज बिहान ८:२१ मा काठमाडौ विमानस्थलमा अवतरण गरेको हो । जहाजमा आएको खराबीबारे प्राबिधिक टोलीले अध्ययन गरिरहेको छ ।

लोकपथले क्याप्टेन थापासँग छोटो कुराकानी गरेको छ । उहाँकै शब्दमा

म सहित विमानमा ४ जना थियौँ । लुक्लाबाट काठमाडौं फर्किने क्रममा जब हामीले उडान भर्यौ । त्यसको ३ मिनेटमा नै विमानमा खराबी आएको थाहा भयो । विमानमा प्यारामिटरहरु हुन्छन् । त्यसमा भइरहेको फङ्सनबारे थाहा हुन्छ । के कारणले समस्या आएको हो भनेर हामीले खोजी गर्यौँ । विमानमै चेकलिस्ट हुन्छ । त्यसकै आधारमा सबै हेर्यौँ। दाहिने ईन्जिनमा प्रब्लम भएको पत्तो लागेपछि एउटा ईन्जिनको भरमा उडायौँ । उताको टावरमा खबर गर्यौँ । विमानको प्रब्लम बारे जानकारी गराएपछि काठमाडौँ टावरसँग सम्पर्कका लागि भन्यौँ । काठमाडौँको टावरमा टिपेपछि यतापनि खबर गर्यौँ । आकाशमा उडिँरहदा पनि हामीले सर्तकर्तापूर्वक उडायौँ । त्यसपछि यता ल्याण्ड भयो । कुनै हतास वा अतालिनुपर्ने अवस्था नै थिएन । एउटा मात्रै ईन्जिनको भरमा उडायौँ । सेफ्ली ल्याण्डिङ भयो । खुसी छौँ । यसको प्रब्लमबारे प्राविधीकहरुले हेरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?