नेकपा: अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हाल स्वास्थ्योपचारका लागि सिङ्गापुरमा हुुनुहुन्छ । नेपालको इतिहासमै आज उहाँले विदेशमा बसेर भिडियो कन्फरेन्समार्फत पहिलो पटक मन्त्रिपरिषद् बैठक आयोजना गरिरहनुभएको छ ।

सम्बन्धित व्यक्तिले दिएको स्पष्टीकरण पार्टीलाई चित्त नबुझे आवश्यक कारवाही गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रको अनुशासन खस्कँदै गएको भन्दै पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गरिने सङ्केत गर्नुभएको थियो । पछिल्लो समय नेकपाका केही जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रुपमै पार्टी र नेतृत्वका विरुद्धमा अनावश्यक टीकाटिप्पणीमा उत्रिएपछि बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “पार्टीका नेता, कार्यकर्ता वा अन्य कुनै सदस्यका बारेमा पार्टीका तलदेखि माथिसम्मका जिम्मेवार व्यक्तिले कुनै विषय व्यक्तिगत रुपमा उठाउनु परेमा त्यसलाई पार्टीभित्र तथ्यसम्मत ढङ्गले वा आफूलाई लागेको विषय उठाउनुपर्ने छ ।” बैठकले नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

मनोनीत हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण हुनुहुन्छ । पराजुली र धमला बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नुभएको थियो । त्यस्तै राईद्वय चन्दसमूहबाट नेकपा प्रवेश गर्नुभएको हो । पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानबमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोयन गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको छ । बैठकले राष्ट्रिय सुरक्षा विभागका प्रमुखमा भानुभक्त ढकाल र उपप्रमुखमा रामकुमार राईलाई तोकेको छ । यसअघि उपप्रमुख राईलाई खोटाङको सहइञ्चार्जको जिम्मेवारी दिइएको थियो । विदेश मामिला विभागका उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ । नीति, अनुसन्धान प्रतिष्ठानका सहसंयोजकमा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ ।

हमाल यसअघि ललितपुरको सहइञ्चार्जको भूमिकामा हुनुहुन्थ्यो । प्रादेशिक मामिला विभागका उपप्रमुखमा डोरमणि पौडेललाई चयन गरिएको छ । सहकारी तथा गरीबी निवारण विभागका उपप्रमुखमा कमल चौलागाईंलाई तोकिएको छ । यसअघि सहकारी विभागमा धर्मदत्त देवकोटा हुनुहुन्थ्यो । उहाँलाई सहकारी विभागबाट हटाइएको छ ।

यस्तै कर्णाली प्रदेश सम्पर्क कमिटी इञ्चार्जको जिम्मेवारी सत्य पहाडीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका इञ्चार्जमा वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ । चौधरी कैलालीको सहइञ्चार्जको भूमिकामा हुनुहुन्थ्यो ।

बैठकले जनवर्गीय सङ्गठनका सहइन्चार्जमा नयाँ व्यवस्था गरिएको छ । अखिल नेपाल नेपाल महिला सङ्घका सहइञ्चार्जमा अमृता थापा र सीता पौडेललाई थप गरिएको छ । आदिवासी जनजाति महासङ्घ नेपाल र सम्बद्ध सङ्गठनका सहइञ्चार्जमा सुरेश आले मगर र शेरबहादुर तामाङलाई थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?