काफल बेचेर घरखर्च जोहो गर्दै दाङका महिला

काठमाडौं ।  दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।

दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ । 

दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक  चार हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आएकी धनसरी घर्तीले बताइन् । “दिनमा चार हजारसम्म कमाइ हुन्छ”, उनले भनिन् – कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।” 

दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलसीपुर बजारमा काफल बच्ने गरेको तुलसरा विकले बताइन् । “बुढा कामको सिलसिलामा काभ्रे पलाञ्चोक बस्नुहुन्छ, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछु”, उनल;ए भनिन्, “बुढाको कमाई  सबै बचत गरेको छु ।” 

त्यस्तै बिहानै कपुरकोटबाट तुलसीपुरमा काफल बेच्न आउने शिवा पुनले पनि काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताइन् । 

एक महीनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक मानोको ३० मा बेच्ने गरिएको उनले बताइन् । 
 
त्यस्तै तुलसीपुरकी तारा नेपालीले पनि काफल बेचेरै घरपरिवार पाल्दै आएकी छिन् । अरुले टिपेको काफललाई खरीद गरेर बेच्ने गर्छिन् । उनले आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरीद गरेर बेच्ने गरेकी छिन् ।

 “आफँैले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरीद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ”, उनले भनिन्, “त्यसो गर्दा पनि दैनिक ५०० सम्म आम्दानी हुने गरेको छ ।” 

यो समयमा यहाँका महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले दाङका बजारमा काफल बेच्ने महिला धेरै छन् । तुलसीपुर बजारमा कपुरकोटबाट, घोराहीलगायत आसपासका बजारमा रोल्पाबाट तथा लमही, भालुबाङ बजारमा प्यूठानबाट काफल आउने गरेको छ ।

गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?