धनी मन्त्रीको सूचीमा श्रममन्त्री डीपी अर्याल : आफैँले उल्लेख गरे २० करोडभन्दा बढीको सम्पत्ति

लोकपथ
532
Shares

काठमाडौं । हालको मन्त्रिपरिषद्को धनी मन्त्रीको सूचीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी अर्याल) को नाम थपिएको छ । अर्यालले बुझाएको सम्पत्ति विवरण अनुसार उनी र उनकी पत्नीको नाममा रहेको सम्पत्ति २० करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत मंगलबार सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणमा अर्यालको सम्पत्ति उनी आँफैले घोषणा गरेको मूल्यमा पनि २० करोडभन्दा बढी रकमको रहेको पाइएको छ ।

अर्यालले बुझाएको सम्पत्ति विवरणमा उनी तथा परिवारको नाममा १२ स्थानमा घर तथा जग्गा रहेको उल्लेख छ भने सम्पत्तिको हालको मूल्य कायम नराखी पहिलेकै मूल्य राखेको पाइएको छ ।

अर्यालले आफूसँग १५० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गर्दा त्यसको मूल्य ८२ लाख मात्रै उल्लेख गरेका छन् । जबकि हालको मूल्यमा १५० तोला सुन किन्न २ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।त्यस्तै अर्यालले पेश गरेको हिराको मूल्य र चाँदीको मूल्यमा पनि व्यापक फरक रहेको छ । २०७४ सालकै मूल्य राखेर उनले आफ्नो सम्पत्ति विवरण देखाएका छन् ।

अर्यालले पेश गरेको सम्पत्ति विवरणमा श्रीमती अम्बिका केसीको नाममा वनस्थलीमा ३ करोडको घर रहेको उल्लेख छ । त्यस्तै १२ स्थानमा जग्गा रहेको भनेपनि जग्गाको हालको मूल्य कायम गरेका छैनन् ।

अर्यालले पेश गरेको सम्पत्ति विवरणमा नागार्जुनमा रहेको ५ आना जग्गाको मूल्य ७० लाख मात्रै उल्लेख गरेका छन् । खरिद गर्दाको समय उल्लेख गरेको भएपनि हाल नागार्जुन नगरपालिकाको वडा नम्बर १ अर्थात् रानीवन क्षेत्रमा प्रतिआना जग्गाको मूल्य औसतमा ३५ लाख पर्छ ।

धादिङ स्थायी ठेगाना भएका अर्यालको सम्पत्ति धादिङको गजुरी गाउँपालिका, नागार्जुन, टोखा, लमजुङको राइनास गाउँपालिका र भक्तपुरको बागेश्वरीमा समेत रहेको उल्लेख छ । अर्यालले लमजुङको राइनासमा इट्टा उद्योगसमेत सञ्चालनमा ल्याएका थिए ।

त्यस्तै अर्यालले स्वयम्भुको स्टार बैंक्वेट, सूमिरे ट्राभल्स एण्ड टुर्स, ईजिलिंक रेमिट र एपीए ह्याण्डिक्राफ्ट समेत चलाएको र त्यहाँ लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।अर्याल र उनको परिवारको नाममा विभिन्न बैंक तथा सहकारीमा बचत तथा विभिन्न बैंक तथा इन्भेष्टमेण्ट कम्पनीमा सेयर रहेको उल्लेख छ ।

अर्याल आँफैले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको रकम नै करिब २० करोडको रहेको उल्लेख छ । हालको बजार मूल्यमा उनको सम्पत्ति त्योभन्दा धेरै रहेको बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?