नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

लोकपथ
0
Shares

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्त भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहोदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको छ ।

सोही कसुरमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?