आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न छुट्टै डेस्क स्थापना

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुनुवाइ तथा व्यवस्थापनका लागि छुट्टै डेस्क स्थापना गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका हुन् ।

उक्त डेस्कमार्फत नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीले आफ्ना गुनासा तथा समस्या राख्न सक्नेछन् । यसका लागि प्रहरी कर्मचारीको आधिकारिक नम्बरसमेत दर्ता गरिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी डेस्क स्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डेस्क उद्घाटनका क्रममा आईजीपी केसीले यस व्यवस्थाले आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित र सहज बनाउने विश्वास व्यक्त गरे । उनले डेस्कमार्फत कर्मचारीका समस्या पहिचान गरी समाधान गर्न सहयोग पुग्ने बताए ।

प्रहरी प्रधान कार्यालयभित्र स्थापना गरिएको उक्त डेस्कमा प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको कमान्डमा १० जनाको टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?