बैंकिङ प्रणालीबाट २०० अर्ब खिच्दै राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज (मंसिर ४ गते) निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलनका लागि ब्याजदरमा बोलकबोल आह्वान गरेको छ । यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

इच्छुक संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ ।

२८ दिन अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत नियमित रूपमा रकम खिच्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?