काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना तथा चेतावनी सन्देश उपलब्ध गराउने उद्देश्यले सरकारले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबीएस) को परीक्षण गर्ने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा मङ्सिर ४ गते काठमाडौंको बलम्बु क्षेत्रमा प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुनेछ ।
विपद्का बेला मोबाइल फोनमार्फत पूर्वसूचना प्रवाह गर्ने प्रणालीको प्राविधिक क्षमता र सन्देश प्राप्त हुने अवस्थाबारे परीक्षण गर्नु यसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ ।
सेल ब्रोडकास्टिङ निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिने प्रविधि हो । यस प्रणालीबाट सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ ।
सामान्य एसएमएसभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा ठूलो संख्यामा मोबाइल उपकरणमा सूचना पुर्याउन सक्छ । साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्रै सन्देश पठाउन सकिने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी सचेत गराउन सकिन्छ ।
प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रमा कार्यान्वयन गर्ने योजना छ ।
यस प्रणाली सञ्चालनमा आएपछि बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकले समयमै चेतावनी प्राप्त गर्ने र सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी तथा सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मोबाइल प्रविधिको उपयोगमार्फत विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने र नागरिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो परीक्षण गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया