काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञको क्षमता विकास गर्नुपर्ने बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) ले बिहीबार आयोजना गरेको ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशा : नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनार उद्घाटन गर्दै उनले कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता हुनुपर्ने बताएका हुन् ।
मन्त्री खनालले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नै देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताए । आफ्नो देश र समुदायलाई राम्ररी नबुझीकन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी प्रतिनिधित्व गर्न नसकिने उनको भनाइ थियो ।
नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
उनले हिमाल, पहाड र तराईका समुदायका साथै किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षा बुझ्न सक्ने कूटनीतिज्ञ आवश्यक रहेको बताए ।
मन्त्री खनालले प्रमाणमा आधारित विश्लेषण, समस्या समाधान गर्ने क्षमता, विभिन्न परिस्थितिअनुसार अनुकूल हुन सक्ने गुण, सांस्कृतिक विविधताको सम्मान र विभिन्न क्षेत्रबीच सहकार्य गर्ने क्षमतालाई कूटनीतिका लागि महत्त्वपूर्ण माने ।
तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै उनले युवा कूटनीतिज्ञलाई अङ्ग्रेजी, चिनियाँ र अरबीजस्ता अन्तर्राष्ट्रिय भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न आग्रह गरे ।
भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै उनले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । साथै युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई विभिन्न क्षेत्रमा रहेर नेपालको कूटनीतिक समुदायमा योगदान गर्न आह्वान गरे ।
कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण तथा बदलिँदो भू–राजनीतिक समीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ चुनौती र अवसर सिर्जना गरेको बताइन् ।
उनले विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको बताइन् ।
उनका अनुसार कूटनीति अब राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिकासमेत महत्त्वपूर्ण बन्दै गएको छ ।
आज दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन र नेपालको विश्वव्यापी सहभागिताबारे छलफल हुने प्रतिष्ठानले जनाएको छ ।
विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।
कार्यक्रममा निर्वाचन आयोगका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मीको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया