काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित एक रिसोर्टबाट नियन्त्रणमा लिइएका ३६ जना चिनियाँ नागरिकले प्रयोग गर्दै आएका मोबाइल र ल्यापटपमाथि प्रहरीले प्राविधिक अनुसन्धान थालेको छ ।
प्रहरीले उनीहरूबाट १५५ वटा मोबाइल फोन र ४९ वटा ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । स्थानीयको गुनासोपछि मंगलबार अपराह्न रिसोर्टमा छापा मार्दा शंकास्पद गतिविधि देखिएपछि ती सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयका प्राविधिक टोलीले मोबाइल तथा ल्यापटपको परीक्षण गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार उपकरणको अनुसन्धानबाट प्राप्त विवरण र सीआईबीको रायका आधारमा पक्राउ परेका चिनियाँ नागरिकमाथि कानुनी प्रक्रिया अघि बढाइनेछ ।
उनका अनुसार उनीहरू पर्यटकीय भिसामा नेपाल आएर काम गरिरहेको हुन सक्ने आशंका छ । अनुसन्धानबाट दोषी देखिए कानुनअनुसार कारबाही गरिने र अन्यथा अध्यागमन विभागमा बुझाइने उनले बताए ।
ती चिनियाँ नागरिक थाङ्का चित्र बनाउने तथा पर्यटन र प्रविधिसम्बन्धी काम गर्ने भन्दै तीन महिनादेखि उक्त रिसोर्टमा बस्दै आएका थिए । रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा मोबाइल र ल्यापटप फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयको गुनासोपछि प्रहरीले उनीहरूको गतिविधिबारे छानबिन थालेको थियो । वडाध्यक्ष रामशरण दङ्गालका अनुसार केही हप्ताअघि प्रहरीसहित रिसोर्ट पुगेर बुझ्दा उनीहरूले आफूहरू थाङ्का चित्र बनाउने काममा संलग्न रहेको बताएका थिए । तर, पछिल्लो समय उनीहरूको गतिविधि शंकास्पद लागेपछि प्रहरीलाई खबर गरिएको उनले बताए ।
रिसोर्ट सञ्चालक सूर्य भेटुवालका अनुसार तीन महिनाअघि चिनियाँ टोलीलाई रिसोर्ट भाडामा दिइएको थियो । पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएका उनीहरूले आफ्नै सेफसमेत ल्याएका थिए । त्यसैले रिसोर्टका कुनै पनि कर्मचारी त्यहाँ नरहेको उनले बताए ।
पाँचखालको घटनापछि काभ्रेपलाञ्चोकका धुलिखेल, पनौती र बल्थली क्षेत्रमा समेत चिनियाँ नागरिकको बसाइ तथा गतिविधिबारे निगरानी बढाइएको छ । बल्थली क्षेत्रका नयाँ तथा ठूला होटल र रिसोर्टमा पछिल्ला केही महिनायता चिनियाँ नागरिकको चहलपहल बढेको एक निर्माण व्यवसायीले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार शंकास्पद क्षेत्रका होटल तथा रिसोर्टमा अनुगमन र निरीक्षण गर्न थप प्रहरी परिचालन गरिएको छ । धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट र नगरकोटलगायत पर्यटकीय क्षेत्रमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे सम्बन्धित संयन्त्रमार्फत थप सूचना सङ्कलन गरिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया