काठमाडौं । सङ्घीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी तीव्र पारेको छ ।
काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्दै रातदिन सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्न प्रशासनले पहल थालेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै राजधानीलाई २४ घण्टा सञ्चालन गर्न आवश्यक सुरक्षा तथा पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्था कायम गर्नुका साथै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीलगायतका आधारभूत पूर्वाधार व्यवस्थित गरिनेछ ।
यसअघि काठमाडौंका प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई २४ घण्टा सञ्चालनमा ल्याइएको थियो । तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा २०८१ वैशाख १ गतेदेखि ती क्षेत्र चौबिसै घण्टा खुला गरिएको थियो ।
प्रशासनले अब काठमाडौं जिल्लाभित्रका अन्य व्यापारिक तथा बजार क्षेत्रलाई समेत २४ घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि स्थानीय तह, सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने जनाएको छ ।
यातायात, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएर राजधानीलाई चौबिसै घण्टा सञ्चालन गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइने प्रशासनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया