काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०६१ मंसिर २ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।
नेपालको १५औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्सले २२ वर्षको अवधिमा बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। कम्पनीले देशभर शाखा विस्तार गरी लाखौँ ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।
बलियो वित्तीय अवस्था, प्रभावकारी व्यवस्थापन, छिटो दाबी भुक्तानी र प्रविधिमैत्री सेवाका कारण कम्पनीले बीमित तथा लगानीकर्ताको विश्वास जित्दै आएको छ। कम्पनी राज्यलाई धेरै कर बुझाउने बीमा कम्पनीमध्ये एकका रूपमा समेत परिचित छ ।
शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश वितरणमा पनि राम्रो इतिहास बनाएको छ । कम्पनीले पछिल्ला वर्षहरूमा बोनस सेयर र नगद लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा २७.७७ प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने लाभांश वितरण गरेन ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश दिएको थियो। आर्थिक वर्ष २०७९/८० मा पनि कम्पनीले लाभांश वितरण गरेन ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद लाभांश गरी कुल ६.३२ प्रतिशत लाभांश दिएको छ ।
नियमित रूपमा बीमा सेवा विस्तार गर्दै आएको कम्पनीले लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिँदै आएको छ । २२ वर्षको व्यावसायिक यात्रामा हासिल गरेको उपलब्धिलाई निरन्तरता दिँदै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा केन्द्रित हुने कम्पनीको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया