काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टीलाई अघि बढाइने बताए ।
अखिल नेपाल किसान महासङ्घको केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक र स्पष्ट दृष्टिकोण भएको पार्टी रहेको बताए । उनले पार्टीको सङ्गठन पनि सुदृढ रहेको उल्लेख गरे ।
ओलीले पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी दुई कार्यभार र १५ वटा काम निर्धारण गरेको जानकारी दिए । उनले आन्दोलन र स्थानीय तह निर्वाचनका कार्यभार पूरा गर्ने तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
आगामी निर्वाचनमा एमालेले जित्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने आधारका रूपमा रहेको स्मरण गरे । किसान आन्दोलनमा धेरै नेताले अमूल्य योगदान दिएको र कतिपयले सहादत प्राप्त गरेको उनले बताए ।
किसान महासङ्घ विस्तारका लागि व्यापक सम्भावना रहेको उल्लेख गर्दै ओलीले विगतको गौरवलाई कायम राख्न विभिन्न क्षेत्रका किसानलाई महासङ्घमा आबद्ध गराउन आग्रह गरे । त्यसका लागि सक्रियता बढाउनुपर्नेमा उनले जोड दिए ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महासङ्घ ७३ जिल्ला, ५३९ पालिका र एक हजार ३६५ वडामा क्रियाशील रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया