उद्योग क्षेत्रमा १ खर्ब ४ अर्बभन्दा बढी लगानी प्रस्ताव, १० हजारलाई रोजगारीको अवसर !

लोकपथ
0
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८३–०८४ को पहिलो तीन महिनामा नेपालका उद्योग क्षेत्रमा एक खर्ब चार अर्ब २७ करोड रुपैयाँभन्दा बढी लगानीको प्रस्ताव आएको छ ।

गत साउनदेखि असोज मसान्तसम्म उद्योग विभागमा दर्ता भएका १९५ वटा उद्योगमार्फत उक्त लगानी प्रस्ताव गरिएको हो । प्रस्तावित उद्योग सञ्चालनमा आएमा १० हजार २२० जनाले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ ।

उद्योग विभागको त्रैमासिक प्रतिवेदनअनुसार पहिलो त्रैमासमा दर्ता भएका उद्योगमध्ये १४ वटा ठूला, २२ वटा मझौला र १५९ वटा साना उद्योग रहेका छन् । संख्याका आधारमा सूचना प्रविधिसम्बन्धी उद्योग सबैभन्दा अगाडि देखिएका छन् भने लगानीका हिसाबले ऊर्जा क्षेत्रले अग्रस्थान ओगटेको छ ।

यस अवधिमा सूचना प्रविधिमा आधारित ८६ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले एक अर्ब ५८ करोड ७९ लाख रुपैयाँ लगानी गर्ने र ९५० जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरेका छन् । त्यस्तै, पर्यटन क्षेत्रका ४० उद्योगले पाँच अर्ब ६३ करोड ८५ लाख रुपैयाँ लगानी तथा एक हजार ६१८ जनालाई रोजगारी दिने योजना अघि सारेका छन् ।

सेवा क्षेत्रमा पनि उल्लेख्य उद्योग दर्ता भएका छन् । यस क्षेत्रमा दर्ता भएका २३ वटा उद्योगले तीन अर्ब २५ करोड ४४ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । ती उद्योगबाट चार हजार १३२ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

लगानी प्रस्तावको आकारका आधारमा भने ऊर्जा क्षेत्र सबैभन्दा अगाडि रहेको छ । ऊर्जा क्षेत्रमा दर्ता भएका तीन उद्योगले मात्रै ७१ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । यी उद्योगबाट १७३ जनालाई रोजगारी दिने योजना छ । त्यसैगरी, पूर्वाधार क्षेत्रमा दर्ता भएका दुई उद्योगले २० अर्ब सात करोड १० लाख रुपैयाँ लगानी र दुई हजार ३८० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।

विभागको तथ्यांकअनुसार उत्पादनमूलक क्षेत्रमा ३७ वटा उद्योग दर्ता भएका छन् ।

उक्त क्षेत्रका उद्योगले एक अर्ब आठ करोड रुपैयाँ लगानी र २०७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । कृषि तथा वन क्षेत्रमा तीन उद्योग दर्ता हुँदा एक अर्ब १२ करोड रुपैयाँ लगानी र ७०६ जनालाई रोजगारी दिने प्रस्ताव आएको छ ।

त्यस्तै, खनिज क्षेत्रमा एउटा उद्योग दर्ता भएको छ । उक्त उद्योगले १६ करोड ४१ लाख रुपैयाँ लगानी गर्ने र ५४ जनालाई रोजगारी दिने प्रस्ताव गरेको विभागले जनाएको छ ।

पहिलो त्रैमासको तथ्यांकले उद्योग दर्ताको संख्यामा सूचना प्रविधि क्षेत्रको आकर्षण देखाए पनि ठूलो लगानीका प्रस्तावमा ऊर्जा र पूर्वाधार क्षेत्रको प्रभाव बढी रहेको देखाएको छ । यद्यपि, प्रस्तावित लगानी र रोजगारी वास्तविकतामा रूपान्तरण हुन उद्योग स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढ्नुपर्नेछ ।

यस्तो छ आर्थिक वर्ष ०८३–०८४ को पहिलो त्रैमासिकको अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?